नवकान्तिपुर संवाददाता
काँक्रेविहार (सुर्खेत), २ चैत ।


गत फागुन २३ गते बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेत बराहताल गाउँका ५ जना र उनीहरुसंगै हाल बर्दिया बस्ने एकजना बेपत्ता भएका छन् ।
घरदेखि १७ किलोमिटर दक्षिण तर्फ रहेको निकञ्जमा शिकार खेल्न गएका उनीहरु ९ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी सुरु गरेको छ ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा सुर्खेत बराहताल गाउँपालिका १ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र लेकवेशी नगरपालिका ८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएहरूका बेपत्ता भएको खबर प्राप्त भएको थियो ।
अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।
