कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्ने उज्यालो नेपाल पार्टीको माग

उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका प्रवक्ता डा राजु थापाद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्नेसहितका पाँच बुँदे माग अघि सारिएको छ । प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएकाबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गर्न पार्टीको माग छ ।

यस्तै, प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानुनसम्मत प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ । पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न पार्टीको माग छ ।

प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शङ्का र असन्तोष बढ्दै जाने तथा राज्यप्रतिको विश्वास कमजोर हुने पार्टीको भनाइ छ ।



सम्बन्धित समाचार