नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।


जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित वसन्तपुरस्थित कुमारीघर ल्याइएको छ ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा मनाइने घोडेजात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलनअनुसार बुधबार वसन्तपुर ल्याइएको हो ।
त्यस अवसरमा कुमारीघरबाट परम्परागत बाजागाजासहित कुमारीलाई जात्रा स्थलमा सवारी चलाइएको थियो । सोही क्रममा कुमारीको दर्शन गर्नेहरूको भीड लागेको थियो । सुन्धारास्थित नेपाल वायुसेवा निगमको भवनबाट कुमारीलाई जात्रा अवलोकन गराइएको कुमारीघरका प्रबन्धक गौतम शाक्यले जानकारी दिनुभयो । निगमको कार्यालयमा कुमारीलाई जात्रा अवलोकन गराउन एउटा विशेष कक्षको व्यवस्था गरिएको छ ।
टुँडिखेलको सैनिक मञ्च अगाडि भएको उक्त जात्रामा नेपाली सेनाले घोडा दौड तथा कला प्रदर्शन गरेको थियो । कुमारीलाई तलेजु भवानीको प्रतीक र शक्तिको अवतार मानिएको छ । भूत–प्रेत भगाउने र सहरको रक्षा गर्ने विश्वास गरिएको जात्रामा कुमारीको सहभागितालाई सांस्कृतिक रूपमा अनिवार्य गरिएको छ ।
काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा जात्रा मनाइन्छ । विभिन्न समारोहमा राष्ट्रप्रमुखले समेत कुमारीलाई दर्शन भेट गर्ने परम्परा रहेको छ ।
