नवकान्तिपुर संवाददाता
गण्डकी, ५ चैत ।


पोखरामा बिहीबार देखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा ‘एक्युरेसी’ विधामा सुरु गरिएको सो प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ६६ खेलाडी सहभागी छन् ।
प्रतियोगिता यही चैत ७ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष अनिल केसीले जानकारी दिए । सहभागी खेलाडीलाई पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोैदीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
यस अघि कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७८ सालमा देशभर सोलो उडानमा रोक लगाएका कारण २०औँ संस्करणको प्रतियोगिता हुन सकेको थिएन ।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाउँदा प्रतियोगिता रोकिएको थियो । यस अघि प्याराग्लाइडिङ प्रतिको बढ्दो आकर्षणसँगै नेपालले १८औँ एसियाली खेलकुदमा सो खेलमा रजत पदक जितेको थियो ।
नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणले नै देशले खेलकुदमा उक्त उपलब्धी हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको अध्यक्ष केसीको भनाइ छ ।
“खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्ज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो । अहिलेको विषम् परिस्थितिमा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म माथि उठाउन सक्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुुभयो ।
प्रतियोगितामा पुरुषतर्फको एक्युरेसी विधामा च्याम्पियन हुनेले रु एक लाख ५० हजार, द्वितीयले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउने छन् ।
महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार तथा टिम स्पर्धामा पहिलो हुनेले रु ७५ हजार, द्वितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने छन् ।
यसैबीच प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्यका रुपमा विश्वमाझ परिचित बनेको बताउनुुभयो । कतिपय विदेशी पर्यटक प्याराग्लाइडिङकै लागि पोखरा आउने गरेकाले यो केवल खेल मात्र नभएर पोखराको पहिचान जस्तै बनिसकेको उहाँले बताउनुुभयो ।
प्रतियोगिताका प्राविधिक निर्देशक योगेश भट्टराईका अनुसार हवाइ खेलकुदको अन्तरराष्ट्रिय संस्थाको मापदण्डअनुसार हुने यस प्रतियोगिताका खेलाडीले प्राप्त गर्ने नम्बरले अन्य खेलका लागि अन्तरराष्ट्रिय मान्यता पाउनेछन् ।
प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स, कोरिया, स्पेनलगायत देशका खेलाडी सहभागी भएका छन् ।


