नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।

प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्र सभामुखमा उम्मेदवारी परेको छ ।
सङ्घीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको हो ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहनुभएको छ ।
कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।


