नवकान्तिपुर संवाददाता
पाटन (ललितपुर), ३ वैशाख ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको बैठकले प्रशिक्षण प्रतिष्ठानलगायत अन्य विभिन्न समिति गठन गरेको हो ।
बैठकले निर्वाचन ब्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाल, सदस्यता व्यवस्थापन केन्द्रीय समितिको संयोजकमा महामन्त्री प्रदीप पौडेल, सदस्यमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही रहने गरी समिति गठन गर्ने निर्णय गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
यस्तै, सङ्गठन परिचालन तथा समन्वय समितिको संयोजकमा महामन्त्री गुरुराज घिमिरे तथा सदस्यमा बहादुरसिंह लामा र मुक्ताकुमारी यादवलाई जिम्मेवारी तोकिएको छ । बैठकले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दलसँग संवाद गर्ने समिति गठन गरिएको छ भने मर्यादाक्रम निर्धारण समितिको संयोजकमा चिनकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
पार्टीभित्र बृहत्तर एकता कायम गर्दै १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न सबै पक्षसँग संवाद गर्ने जिम्मेवारी सभापति थापालाई दिने निर्णय भएको छ ।
यसैगरी ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि–२०८३’ प्रदेश तथा जिल्ला समितिका सुझाव समेटेर जेठ १ गतेदेखि लागू गर्ने गरी पारित गर्ने निर्णय भएको छ । बैठकमा महामन्त्री गुरुराज घिमिरेले पेस गर्नुभएको गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोजक रहेको समितिले पेस गरेको प्रतिवेदनमाथि विस्तृत छलफल गरिएको थियो ।
बुधबारको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्तसहित केन्द्रीय सदस्यहरू सुरेन्द्रप्रसाद चौधरी, अर्जुनप्रसाद जोशी, अमृत अर्याल, गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार केसी, अब्दुल सत्तार, प्रतिमा गौतम तथा प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक आज दिउँसो १ः०० बजे पुनः बस्ने तय भएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिनुभयो ।


