किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् ।

मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसीको कोर्स पूरा गर्न रु एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको छ ।

किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसीमात्र भर्ना गरेको थियो । दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्णरुपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुने गरी भर्ना गरेको छ ।

सातै प्रदेश र ३१ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको छ । गृह जिल्ला नुवाकोटका ३० प्रतिशत र बाँकी अन्य जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहँदा किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ बन्न पुगेको छ ।

यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन् । केहीले शिक्षालय वरपर डेरा लिएका छन् । प्राविधिक शिक्षालयमा स्वास्थ्य सहायक (एचए) मा अध्ययनरत सङ्खुवासभाकी सङ्गीता मगर, सल्यानकी धनसोरी बुढाथोकी, महोत्तरीकी प्रियङ्का यादव, सर्लाहका अर्पितकुमार दास र रौतहटकी आकृति चौधरी विभिन्न जिल्लाबाट जोडिए पनि आफूहरु अब एकै शिक्षालयको शिक्षार्थी भएकामा खुसी देखिन्छन् ।

यस्तै बाजुराकी कोपिला विश्वकर्मा र प्रमिला दानी मात्र होइन डिप्लोमा इन फार्मेसी पढिरहेकी सुर्खेतकी विजया गुरूङ यसरी धेरै जिल्लाबाट आएका साथीहरुसँग आफूहरुको सांस्कृतिक सिकाइ पनि भएको बताउनुहुन्छ ।

डिप्लोमा इन फार्मेसी अध्ययनरत अछामका नवीन बयक र एचए दोस्रो वर्षमा अध्ययनरत सुर्खेतका पवन बरालले प्राविधिक शिक्षा पढाइसँगै नयाँनयाँ साथीहरु बनेकामा फरक अनुभूति गरेको बताउनुभयो ।

रोचक कुरा, यही शिक्षालयमा पिता डिल्ली ढकाल र छोरी सलिना ढकाल फार्मेसीको विद्यार्थीका रुपमा हुनुहुन्छ । नुवाकोटको लिखु गाउँपालिका–२, ढिकुरे निवासी ढकाल पढाइ पूरा गरेर गाउँमै फार्मेसी खोल्ने योजनामा रहनुभएको छ । “ग्रामीण भेगमा पनि यस प्रकारको शिक्षा उपलब्ध हुनु हाम्रा लागि राम्रो कुरा हो”, डिल्ली ढकालले भन्नुभयो ।

कैलालीको घोडाघोडी नगरपालिका–२ बाट किस्पाङमा प्राविधिक शिक्षा हासिल गर्न आएका शैलेश गिरी भौगोलिक दूरी टाढा भए पनि सुलभरुपमा पढ्न पाइने भएकाले यहाँ आएको बताउनुहुन्छ ।

गिरीसँगै शिक्षालयमा १७ विद्यार्थी भक्तपुरको गठ्ठाघरस्थित लोमस फर्मास्युटिकल्समा प्रयोगात्मक अभ्यासका लागि खटिएका छन् । तीमध्ये गिरीसहित केहीले अहिले नुवाकोटको विदुरस्थित त्रिशूली अस्पतालमा प्रयोगात्मक काम गरिरहेका छन् ।

नुवाकोटकै सूर्यगढी–५ की विद्यार्थी अञ्जली गिरी शिक्षालयमा छात्राका लागि व्यवस्थित र सुरक्षित आवास रहेको बताउनुहुन्छ । किस्पाङ–१, भाल्चेका रुवन तामाङ समग्रमा शिक्षालयको पढाइ राम्रो रहेको प्रतिक्रिया दिनुहुन्छ । उहाँहरु दुवैले पढाइ सकेर मेडिकल खोल्ने तयारी गर्नुभएको छ ।

शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार देशको समग्र झलक शिक्षालयमा पाइन्छ । शिक्षालयमा पहिलो वर्षमा सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी ४०-४० विद्यार्थी रहेकामा छात्रवृत्तिमा अध्ययनमा तीन विद्यार्थी छन् । प्रदेशअनुसार सामान्य चिकित्सातर्फ ६ प्रदेशका विद्यार्थी र डिप्लोमा इन फार्मेसीतर्फ सातै प्रदेशका विद्यार्थी छन् ।

विभिन्न विषय र वर्षमा गरेर बारा, रौटहट, पर्सा, सर्लाही, बझाङ, बाजुरा, धादिङ, दोलखा, हुम्ला, कालिकोट, नुवाकोट, रसुवा, रोल्पा, सङ्खुवासभा, बैतडी, बाजुरा, बर्दिया, धादिङ, हुम्ला, कालीकोट, कञ्चनपुर, नुवाकोट, ओखलढुङ्गा, रौतहट, सर्लाही, सिन्धुली र तनहुँका विद्यार्थी अध्ययनरत छन् ।

दोस्रो वर्षमा प्रदेशगतरुपमा बागमतीका २७, गण्डकीका एक, कर्णालीका १७, मधेसका २६ र सुदूरपश्चिमका चार विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा विभिन्न प्रदेश र जिल्लाका गरी १७ विद्यार्थी छन् । “होस्टेल सुविधाका साथै शिक्षालयमै उत्पादन गरिएको अर्गानिक तरकारी प्रयोग गरेर विद्यार्थीलाई गाउँघरको अनुभूति दिइएको छ ।”

शिक्षालय प्रमुख न्यौपानेले भन्नुभयो, “हामीले समय समयमा अतिथिलाई कक्षा दिलाउनाका साथै खेलकुद सप्ताह, हाजिरीजवाफ, वक्तृत्वकला, सरस्वती पूजा, वनभोज, नारी दिवस तथा होली उत्सवजस्ता कार्यक्रम गर्दै आएका छौँ । यसले विद्यार्थीमा उत्साह पैदा गरेको छ ।”

गाउँपालिकाका अध्यक्ष एवं शिक्षालय सञ्चालक समितिका अध्यक्ष वीरवल तामाङ ३१ जिल्लाका विद्यार्थी आएर पढ्नु भनेको किस्पाडको पानीलाई ती विद्यार्थीहरुले प्रसादका रुपमा लिन पाएको अवसरमा रुपमा आफूहरुले लिएको बताउनुहुन्छ ।

गाउँपालिको आय विस्तार र राष्ट्रका लागि उद्यमशीलताको विकासको शिक्षालय एक कोसेढुङ्गा हुने उहाँले बताउनुभयो । यसलाई आफूहरुले सेवाका रुपमा लिएको र पर्यटकीय विकासका लागि पनि आधार हुने तामाङले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु र विद्यार्थीहरुबाट अहिलेसम्म सकारात्मक प्रतिक्रिया प्राप्त हुनुले शिक्षालयको भविष्य उज्जल रहेकामा सन्देह नरहेको बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि रु एक करोडको निर्माण कार्य भएको सो शिक्षालयमा आर्थिक वर्ष २०८२/८३ का लागि सोही मन्त्रालयले रु तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ । उहाँले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालालगात पूर्वाधार विकास गरी शिक्षालयलाई नमुना बनाइने बताउनुभयो ।

दक्ष र अनुभवी प्रशिक्षबाट अध्ययन अध्ययापन भइरहेकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा पूर्ण छात्रवृत्तिमा पढेका डा आशिष दाहाललगायत पूर्णकालीन शिक्षक सात, कर्मचारी पाँच र अल्पकालीन १३ जना कार्यरत छन् । शिक्षालयमा पुस्तकालयमा पर्याप्त पुस्तकका साथै आधुनिक एवं सुविधा सम्पन्न कम्प्युटर, आवश्यक प्रयोगशाला उपकरण र रसायन सामग्री उपलब्ध छन् ।(रासस)

सम्बन्धित समाचार