नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।

सरकारले ‘वास्तविक’ सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने भएको छ । सरकार देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने जनाएको छ ।
सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प अघि सारेको हो।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै बसोबासको विकल्प अघि सारेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले बताउनुभयो । उहाँले अध्ययनका क्रममा बस्तीमा बस्ने धेरैजसोको अन्यत्र घरजग्गा रहेको पाइएकाले ‘सक्कली’ र ‘नक्कली’ सुकुमबासी छुट्टाउन डिजिटल प्रोफाइल तयार पारिएको जानकारी दिनुह्यो ।
‘हामीले तथ्य र लगतका आधारमा वास्तविक सुकुमबासीको पहिचान गरिरहेका छौँ। अन्यत्र घरजग्गा भएका हुने-खाने तर सुकुमबासीका नाममा जग्गा ओगट्नेलाई कुनै विकल्प दिइने छैन, तर वास्तविक भूमिहीनलाई सरकारले मानवीय संवेदनाका आधारमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नेछ’ दाहालले भन्नुभयो ।
त्यस्तै पुनर्स्थापनाका लागि तोकिएका स्थानहरूमा बिजुली, पानी र शौचालय जस्ता आधारभूत सुविधा सुनिश्चित गरिसकिएको पनि उहाँले बताउनुभयो ।
