नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रही आएको बताउनुभयो ।
“लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्”, उहाँले भन्नुभयो, “विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।”
नर्वेले बहुपक्षीय मञ्चहरूमा राष्ट्रसङ्घीय शान्ति कार्य तथा जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा नेपाल–नर्वे सम्बन्धमा नयाँ आयाम थपिँदै जाने र सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गर्नुभयो ।
राजदूत मियोसले नेपाल र नर्वेको संविधानमा लोकतन्त्र, मानवअधिकार तथा सामाजिक न्यायजस्ता साझा मूल्यहरू रहेको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा दुवै मुलुकले सहकार्य गर्नसक्ने बताउनुभयो । राजदूत मियोसले नेपाल सरकारले सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धतापत्रमा समावेश मुद्दाहरूमा नर्वे सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।
