चलचित्रमा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड

चलचित्रमा चित्रण गरिएका पात्रको जीवनमै मेलखाएमा के गर्ने भन्ने विषयमा सरोकार भएकाहरूले चासो व्यक्त गरेका छन् । शुक्रबार मार्टिन चौतारीमा आयोजित ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक-राजनीतिक प्रभाव’ विषयमा भएको छलफलमा सहभागीले कुनै पनि जाति, समुदाय वा वर्गको दुःख र बेदनाभन्दा सङ्घर्ष र बलिदानका कथा चित्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कुनै जाति लिङ्ग या धर्मका विषयलाई नाटक तथा चलचित्रमा पात्र चित्रण गर्दा कसरी गर्ने ?, कतै यस्ता चित्रणले व्यक्ति वा जातिका परम्परा तथा संस्कारमाथि आँच आउँदैनन् ? लगायत विषयमा ध्यान पुर्‍याउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका हुन् ।

हुन त चित्र या चलचित्रमा यस्तो चित्रण कुनै व्यक्तिको वास्तविक जीवनमा मिल्न गएमा संयोग मात्रै हुनेछ भनिएको हुन्छ । तर, त्योभन्दा यस्ता चित्रणले कुनै जाति वा वर्गको मानसिकता र परम्परामा ठेस भने पूराइरहेका हुन्छन् ।

यस्तै, एउटा उदाहरण हो चलचित्र ‘लालीबजार’ ! लालीबजारले यतिबेला विरोध र प्रशंसा दुवै पाइरहेको छ । बादी समुदायको देह व्यापारलाई मुख्य केन्द्र बनाएर चलचित्र निर्माण गरिएकाले त्यस समुदायले विरोध जनाइरहेका छन् । समुदायको संवेदनालाई वास्ता नगरी नकारात्मक दृष्टिले चलचित्र पस्किएको भन्ने बादी समुदायको आरोप छ ।

उक्त चलचित्रको विरोध गरिरहनुभएका बादी समुदायका गोपाल नेपाली बादीले भन्नुभयो, “लालीबजार चलचित्र हेरेपछि मेरी आमा र दिदिबहिनीको इज्जत उदाङ्गो पारिएको महसुस भयो । म चलचित्र हेरेपछि रुदै हलबाट फर्किएँ । मेरो रोदनमा मेरो समुदायमाथि गरिएको अपमान र नकारात्मक चित्रणको वेदना थियो ।”

उहाँका अनुसार बादी समुदायका महिलाले इतिहासमा राज्य क्रान्तिका बेला दिएको योगदानका सहासीपूर्ण कथाहरू छन् । बादी समुदायले संरक्षण गर्दै आएको कला, सङ्गीत र साहित्यको इतिहाससमेत छ । ती छायाँमा पारेर मात्रै देह व्यापारको पाटो देखाइ चलचित्रले बजारीकरण गरेको उहाँको गुनासो छ ।

गोपालले चलचित्रमा जात वा कुनै समुदायको विषय उठान गर्दा त्यसका पात्रलाई सकारात्मक र रचनात्मक ढङ्गले उठान गर्ने कला नेपाली चलचित्र निर्मातामा कम देखिएको बताउनुभयो ।

अनुसन्धानकर्ता विनीता नेपालीका अनुसार चलचित्र समाजको ऐना मात्रै नभई समाजको धारणा निर्माण गर्ने मञ्च पनि हो । जहाँ खास गरी दलित समुदायका पात्रलाई चलचित्रमा प्रस्तुत गरिने शैली गरिबी, दुःखी, दिनहीन पात्रको रूपमा हुने गरेकामा यसलाई परिवर्तन गरी सङ्घर्ष र बलिदानका विषय समेट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अनुसन्धानकर्ता द्वेय विनिता र अमर विश्वकर्माले डिग्निटी इनिसिएटीभले मार्टिच चौतारीमा आयोजना गरेको ‘नेपाली चलचित्रमा जातको चित्रण र यसको सामाजिक–राजनीतिक प्रभाव’ अध्ययनको निष्कर्षले दलित समुदायलाई कमजोर पात्रमा मात्रै सीमित राखेको प्रष्ट पारेको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार मार्टिन चौतारीमा विनिताले अध्ययनपत्र प्रस्तुत गर्दै भन्नुभयो, “दलित क्रान्तिका थुप्रै सङ्घर्षशील र बलिदानी पात्रहरू छन्, जुन चलचित्रमा देखाइँदैन । समुदायको भावना बुझ्ने र न्याय दिने चलचित्र निर्माताको अभाव छ । यसलाई सकारात्मक संवाहकका रूपमा चित्रण गर्नुपर्ने आवश्यकता छ ।”

दलित समुदायको पात्रको पिडा बिक्री गरेरै नेपाली चलचित्रमा अहिलेसम्म सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र हो, ‘पूर्णबहादुरको सारङ्गी’ । उक्त चलचित्रमा सारङ्गी बजाउने गाइने समुदायले छोरा पढाउन गरेको सङ्घर्षलाई मूल कथा बनाइएको छ ।

चलचित्रमा पूर्णबहादुरलाई मगन्ते समुदायको पात्रका रूपमा बारम्बार परिभाषित गर्न खोजिएको अनुसन्धानकर्ता विनीताको बुझाइ छ । “दैवले दिएको नियति भन्दै यी पात्रले आफूमाथि भएको विभेद्लाई स्वीकार गरेको देखाइएको छ । जुन यर्थाथमा राज्यले नीति व्यवस्था ल्याएर समुदायमाथि गरेको विभेद्को कुनै चर्चा गरिएको छैन”, उहाँले भन्नुभयो ।

अनुसन्धानकर्ता विनिताले थप्नुभयो, “पञ्चायतकालमा दलित पात्रलाई यतिधेरै निरीह देखाइँदैन थियो । जति अहिलेका चलचित्रले देखाएका छन् ।” नेपालको पहिलो चलचित्र ‘आमा’पछि ‘माइतीघर’, ‘परालको आगो’, ‘पण्डित बाजेको लौरी’, ‘कालो पोथी’, ‘प्रकाश’ लगायत चलचित्रमा अप्रत्यक्ष रूपमा दलित पात्रको दृश्य देखाइएको छ ।

त्यसपछि दलितकै मुद्दामा बनेको चलचित्र ‘सिमाना’ (सन् १९९६), ‘बाटो मुनीको फूल’ (सन् २०१०), ‘प्रसाद’, ‘सुनपानी’, ‘प्रसाद-२’, ‘पुजार सार्की’, ‘वसन्त’ हुन् ।

दलित पात्र उभाइएका चलचित्रमा हालसम्म ‘छड्के’ (२०१३), ‘कब्बडी’ र ‘ऊनको स्वीटर’ रहेका छन् । अनुसन्धानकर्ता विनिताको अनुसन्धानले यी सबै चलचित्रमा जात व्यवस्थाको गहिरो अध्ययन नभई बजारीकरणको हिसाबले दलित पात्रलाई उभ्याइएको बताउनुभयो ।

“कतिपय प्रसङ्गमा दलित पात्र नउभाए पनि चलचित्र बन्ने स्थिति रहन्छ । तर, त्यहाँ दलितको गरिमा घट्ने गरी पात्र राखिएको पाइन्छ”, उहाँले भन्नुभयो ।

उदारहणका रूपमा विनिताले चलचित्र ‘प्रसाद’ मा दलित पुरुषले गैरदलित महिलालाई विहे गरेको र बलात्कारमा परी बच्चा जन्माएकी ती महिला पात्रको सन्तान प्रसाद सम्झी ग्रहण गरेको दृश्य देखाइएको बताउनुभयो । “जुन, कथा देखाउन दलित पुरुष पात्र राख्न जरुरी नै थिएन”, उहाँले भन्नुभयो ।

मार्टिन चौतारीका अनुसन्धानकर्ता कैलाश राईले चलचित्र बनाउँदा सरोकार भएका व्यक्ति वा समुदायसँग छलफल गरी समुदायको गहिराइ बुझ्नै पर्ने बताउनुभयो । “एउटा चलचित्रले समाजमा ठूलो प्रभाव पर्छ । चलचित्र व्यापार मात्रै नभई समाजप्रतिको उत्तरदायित्व हो भन्ने बोध गराउन खुला छलफल आवश्यक छ”, उहाँले भन्नुभयो ।

अनुसन्धानकर्ता विश्वकर्माका अनुसार दलित वा कुनै सिमान्तकृत समुदायका मुद्दा उठान गर्नु लगत भने होइन । समाजमा लगत भाष्य निर्माण गर्ने खालका चलचित्र बनाउन नमिल्ने बताउँदै उहाँले कुनै पनि समुदाय वा वर्गको त्याग, सङ्घर्ष र बलिदानको कथा समेटेर सकारात्मक सन्देशसहित चलचित्र बनाउन सकिने धारणा राख्नुभयो ।

सम्बन्धित समाचार