
बीस जना प्राज्ञहरूको अन्तर्वार्तालाई सङ्ग्रहित गरेर तयार पारिएको कृति ‘प्राज्ञिक संलाप’ हालै साहित्यिक बजारमा आएको छ । साहित्यकार दिल पौडेलद्वारा सम्पादित यस कृतिले एउटै प्रकृतिका प्रश्नहरूमा फरक–फरक व्यक्तित्वका अनुभव, दृष्टिकोण र वैचारिक धरातललाई समेट्ने प्रयास गरेको छ । यस अर्थमा कृति केवल अन्तर्वार्ताको सङ्ग्रह मात्र नभई समकालीन बौद्धिक विमर्शको दस्तावेज पनि बनेको छ ।
लामो समयदेखि साहित्य-साधनामा सक्रिय पौडेलको यो पछिल्लो कृतिमा समेटिएका अन्तर्वार्ताहरूले पाठकलाई व्यक्तित्वअनुसार विचार कसरी भिन्न हुन्छ भन्ने कुरा बुझ्ने अवसर दिन्छन् । विभिन्न पृष्ठभूमि रहेका व्यक्तित्वहरूलाई सोधिएको एउटै प्रश्नलाई कसैले अनुभवबाट, कसैले अध्ययनबाट र कसैले जीवन-भोगाइबाट व्याख्या गरेको अनुभूति हुन्छ। यही विविधताले कृतिलाई रोचक र पठनीय बनाएको छ ।
भौगोलिक आयामका दृष्टिले नेपालदेखि सिक्किमसम्म फैलिएको देखिए पनि कृतिमा अन्तर्वार्ताका लागि चयन गरिएका अधिकांश व्यक्तित्व रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) सँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध देखिन्छन् । यसले पुस्तकलाई एउटा निश्चित बौद्धिक वृत्तभित्र केन्द्रित बनाएको आभास दिन्छ । यद्यपि विद्यार्थीका उत्तर मूल्याङ्कन गर्ने शिक्षकहरू स्वयंका विचार र दृष्टिकोणलाई एउटै कृतिमा पढ्न पाउनु पाठकका लागि रोचक अनुभव बन्न सक्छ । यस कृतिले शिक्षक र विद्यार्थीबीचको बौद्धिक सम्बन्धलाई अर्को कोणबाट पनि हेर्ने अवसर प्रदान गरेको छ ।
अन्तर्वार्ताभन्दा अघि प्रत्येक व्यक्तित्वको छोटो परिचय समावेश गरिएको पक्ष कृतिको अर्को सबल पक्ष हो । यसले पाठकलाई सम्बन्धित स्रष्टाको पृष्ठभूमि बुझ्न सहज बनाएको छ । स्रष्टा र पाठकबीच आत्मीय सम्बन्ध निर्माण गर्न यस प्रकारको प्रस्तुति उपयोगी देखिन्छ ।
यद्यपि कृतिमा एउटा पक्ष भने केही खड्किन्छ । साहित्यिक तथा वैचारिक प्रश्नहरूको गहन उत्तर दिने क्षमता केवल प्रा./डा. वर्गमै सीमित हुन्छ भन्ने मनोविज्ञानबाट सम्पादक पूर्ण रूपमा मुक्त हुन सकेजस्तो देखिँदैन । औपचारिक उच्च शिक्षा नलिएका अनेक स्रष्टाका कृतिमाथि विद्यावारिधि गर्ने परम्परा हाम्रो साहित्यिक जगतमा विद्यमान छ । त्यसैले सिर्जनात्मक क्षमता र वैचारिक गहिराइलाई केवल शैक्षिक उपाधिसँग मात्र जोडेर हेर्नु उपयुक्त नहुन सक्छ । अन्तर्वार्ताका पात्र छनोट व्यापक हुन सकेको भए कृतिको प्रतिनिधित्व थप समृद्ध बन्न सक्थ्यो ।
तर यी सीमाका बाबजुद पनि अन्तर्वार्ताकार दिल पौडेलको परिश्रम प्रशंसनीय छ । विविध प्राज्ञिक आवाजलाई एउटै कृतिमा समेट्ने प्रयास आफैंमा महत्त्वपूर्ण कार्य हो । ‘प्राज्ञिक संलाप’ साहित्य, समाज र बौद्धिक विमर्शमा रुचि राख्ने पाठकका लागि उपयोगी तथा सङ्ग्रहणीय कृति बनेको छ ।
कृति : प्राज्ञिक संलाप (अन्तर्वार्ताहरूको सङ्ग्रह)
अन्तर्वार्ताकार : दिल पौडेल
प्रकाशक : सुदीप पौडेल
पृष्ठ : २८४ + १२
मूल्य : रु. ९५१/-
प्रथम प्रकाशन : वैशाख, २०८३
