नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ जेठ ।

अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘गौँथली’ चाँडै प्रदर्शनमा आउने भएको छ ।
डा कपिल रिजालले निर्देशन गर्नुभएको उक्त चलचित्रको पहिलो झलक सार्वजनिक गरिएको छ । ग्रामिण भेगको सामाजिक र प्रेम कथामा आधारित रहेर उक्त चलचित्र तयार गरिएको निर्देशक डा रिजालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गौँथली शिर्षकमै बुवा (डा भोला रिजाल)ले ग्रामिण परिवेशलाई समेटेर चलचित्र निर्माण गर्नुभएको थियो । यसपटक मैले दर्शकको त्यो विश्वासलाई कायम गर्ने गरी काम गरेको छु । यो अनौठो र असामान्य देखिने जोडीको प्रेमकथा हो । यो हामीले नसोचेको एउटा कथा हो ।”
डा रिजालले आफू चिकित्सक भएकाले पनि ‘गौँथली’ को कथा दर्शकसम्म पुग्न आवश्यक रहेको बताउनुभयो । अभिनेता अरुण क्षेत्रीले उक्त चलचित्रमार्फत नयाँ पात्रलाई पर्दामा ल्याउने अवसर पाएको बताउनुभयो ।
“मैले अहिलेसम्म गरेका काममा यो भिन्न छ । यसका लागि मैले शारीरिकसँगै मानसिक रुपमा समेत तयारी गरेको छु । मेरो पात्रको बारेमा अहिले धेरै कुरा गर्न मिल्दैन तर यसपटक दर्शकले फरक अरुणलाई देख्नु हुनेछ”, अभिनेता क्षेत्रीले भन्नुभयो ।
उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै अभिनेत्री सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
