कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आइतबार बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो । उहाँले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रच्नुभएको हो ।

यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आउनुभएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गर्नुभएको हो ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेक्नुभएका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताउनुभयो ।

“कामिरिताको यो उपलब्धि केबल व्यक्तिगत सफलता मात्र नभई नेपालको शान र हिमालको भावनालाई विश्वमाझ पु¥याउन एउटा ठूलो माध्याम हो, हामी उहाँको यो निरन्तरको यात्राको सहयोगी बन्न पाएकामा अत्यन्त गर्व गर्दछौँ”, उहाँले भन्नुभयो ।

महिला आरोही लाक्पा ११औँ पटक सगरमाथा चुचुरोमा

यसैबीच महिला आरोही लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सङ्खुवासभाको मकालुकी लाक्पा शेर्पाले आइतबार बिहान ९ः३० बजे ११औँ पटक सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

कुनै महिला आरोही सगरमाथा चढेको यो नै सबैभन्दा धेरै पटक भएको पर्यटन विभागले जनाएको छ । यसअघि लाक्पाले सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

त्यसबेला उहाँले आफ्नै नाममा रहेको नौ पटक सगरमाथामा पुग्ने महिला आरोहीको कीर्तिमान तोड्नुभएको थियो । हालसम्म कम्तीमा सात हजार आरोहीले १२ हजार पटक सगरमाथा चुचुरोको सफल आरोहण गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार