अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस : नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्र

नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्रका रूपमा स्थापित भएका छन् । अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति र इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल (आइकम नेपाल) ले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा पाटन, लुम्बिनी, तारागाउँलगायत सङ्ग्रहालयले त्यस्तो सन्देश प्रवाह गर्न सफल भएको हो ।

नेपालमा सङ्ग्रहालयको विकास र वर्तमान अवस्थासम्बन्धी प्रस्तुतीकरण दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरस श्रेष्ठले पाँचौँ शताब्दीदेखिका सङ्ग्रहालय सङ्ग्रहित अभिलेखले नेपालमा विभेद नभएको देखाउने बताउनुभयो । विश्वमा सांस्कृतिक कूटनीतिका दृष्टिले धेरै सङ्ग्रहालय खुलेको जानकारी पनि उहाँले दिनुभयो ।

गोरखाको चुम नुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले चुम नुब्री उपत्यका विसं १९७७ मै अहिंसाको उपत्यकाका रूपमा घोषणा भएको र यो आफैँमा प्राकृतिक सङ्ग्रहालय भएको बताउनुभयो । निरन्तर लागेर सांस्कृतिक सम्पदाको संरक्षण गर्न सकिन्छ भन्ने भावनाले गाउँपालिकाले काम गरेको उहाँले सुनाउनुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का आवासीय प्रतिनिधि याको दु तोइले नेपालको विविधता नै यहाँको सौन्दर्य भएको बताउनुहुँदै विविधतामा काम गर्न सङ्ग्रहालय उपयुक्त माध्यम हुने विचार व्यक्त गर्नुभयो ।

आइकम नेपालका कोषाध्यक्ष ओमप्रकाश घिमिरेले संस्थाले अमूर्त संस्कृतिलाई जोडेर लैजाने जानकारी दिनुभयो । गतवर्षको जेनजी आन्दोलनले सिंहदरबार र बबरमहल जस्ता सम्पदा गुमेकामा उहाँले दुःख व्यक्त गर्नुभयो ।

गुठी संस्थानका अभिलेख शाखा प्रमुख राजेन्द्र दाहालले संस्थानले भद्रकालीमा निर्माणाधीन भवनमा निर्माण सम्पन्न भएपछि गरगहना सङ्ग्रहालय स्थापना गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । यसका लागि आधारभूत काम भने अहिले भइरहेको उहाँले सुनाउनुभयो ।

विश्वभरका १५८ देशका ३७ हजार सङ्ग्रहालयमा यो दिवस मनाइन्छ । प्रायः सबै देशमा सङ्ग्रहालय र समुदायको अवस्था उस्तै रहेको बताइएको छ । नेपालमा सङ्ग्रहालय स्थापनाको १०० वर्ष पूरा हुन लाग्दा भर्खर सुरु भएकै जस्तो अवस्थामा रहेको देखिन्छ ।

दिगो विकास लक्ष्यले सम्पदा संरक्षणका विषयलाई महत्त्व दिएको छ । युवा पुस्ता संस्कृतिबाट विमुख हुँदै जान थालेकाले आकर्षित गर्नुपर्ने चुनौती रहेको छ । प्रत्येक वर्ष १८ मेमा दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा ‘सङ्ग्रहालय : विभाजित विश्व–एकताको शक्ति’ रहेको छ ।

कार्यक्रममा आइकम नेपालले प्रकाशन गरेको अनुसन्धानमूलक सङ्ग्रहालय जर्नल लोकार्पण गरिएको थियो । जर्नलका सम्पादक डा मधुसुदन न्यौपानेले विगत वर्षमा भन्दा यस वर्ष जर्नललाई सुधार गरिएको बताउँदै आगामी वर्ष जर्नललाई अझै परिष्कृत गर्दै लगिने जानकारी दिनुभयो ।

सम्बन्धित समाचार