नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।

सरकारले लुम्बिनी-मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवर्द्धन गर्ने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा ध्यान, साधना, योग, बौद्ध–वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने उल्लेख छ ।
त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको क्षेत्रलाई शालिग्राम पथका रूपमा विकास गर्ने भएको छ । देवघाट, त्रिवेणीधाम, रुरुक्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्ड क्षेत्रसम्मको भागलाई विकास गरी शालिग्राम पथ निर्माण गर्न लागिएको उल्लेख छ । विश्वमै कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइन्छ ।
कालीगण्डकी नदीकिनारका प्रमुख तीर्थस्थललाई समेटेर सरकारले शालिग्राम पथ निर्माण गर्न लागेको हो । सिद्धार्थ राजमार्गलाई अन्तरराष्ट्रियस्तरको मापदण्डमा विकास गरी कालीगण्डकी सभ्यताको विकास गरी विश्वभरका धार्मिक पर्यटकलाई आकर्षित गर्नेगरी सरकारले योजना बनाएको छ । कालीगण्डकी नदीकिनारका तीर्थलाई चतुर्भुजीय स्वरुपमा विकास गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
नेपाललाई योग, ध्यान एवं आरोग्य पर्यटनको केन्द्रका रुपमा विकास गरिने पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो । सुदूरपश्चिम क्षेत्रका रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट ‘पर्यटकीय चतुर्दिक’ विकास अघि बढाउने कार्यक्रम पनि बजेट वक्तव्यमा उल्लेख छ ।
मध्यपहाडी राजमार्गसँग ओलाङ्चुङगोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्साजस्ता उत्तरी पर्या–व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखी संस्कृतिसँग जोड्ने कार्यक्रम बनाइएको छ ।
धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण लुम्बिनी क्षेत्रको बृहत् पूर्वाधार विकासका लागि रु ८३ करोड बजेट विनियाजन गरिएको छ ।
तिलौराकोट, कपिलवस्तु, रामग्राम र देवदह क्षेत्रमा पूर्वाधार निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धनका लागि काम गरिने पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो । आदिवासी जनजाति समुदायको संस्कृति प्रवर्द्धनका लागि कीर्तिपुर सङ्ग्रहालय विस्तार गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
