नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।

चलचित्र पत्रकार सङ्घ नेपालले विदेशमा शाखा विस्तार गरेको छ । आफ्नो सङ्गठनात्मक सञ्जाललाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित सङ्घले विभिन्न मुलुकका लागि संयोजक तोकेको हो ।
सङ्घको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र होइन, अन्तररााष्ट्रिय सांस्कृतिक नेटवर्क (सञ्जाल)सँग जोड्ने आधार तयार गर्ने निर्णय गरेको अध्यक्ष समीर बलामीले बताउनुभयो ।
सङ्घले संयुक्त राज्य अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा सङ्घका पूर्वउपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्वसचिव उत्तम गौडेल, युरोप क्षेत्रमा मकवानपुर शाखाका पूर्वध्यक्ष मणिराज गौतम, अष्ट्रेलियामा सङ्घका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दीपश्न लुइँटेल तथा कतारमा चलचित्र पत्रकार कमल साउदलाई संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।
यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय च्याप्टर गठन भइसकेको महासचिव गोपिकृष्ण चापागाईंले जानकारी दिनुभयो ।
