छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ ।

सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

टाउकामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले कुटपिटमा संलग्न गौतमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी, दमक नगरपालिका-१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि प्लास्टिकको बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काका अनुसार शनिबार दिउँसो पुलमुनि खोलामा बगिरहेको अवस्थामा महिलाको शव बोराभित्र भेटिएको थियो ।

निज मृत व्यक्ति दमक नगरपालिका-८ वसन्त टोलकी २१ वर्षीया रमा तिवारी रहेको आइतबार सनाखत भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो । तिवारी गत बुधबार राति ९ः३० बजेतिर घरबाट आफूखुसी हिँडेपछि त्यसयता सम्पर्कविहीन भएकी मृतककी आमा मुना तिवारीलाई उद्द्धृत गर्दै प्रहरीले जनाएको छ ।

मेचीनगर र विर्तामोडमा दुई व्यक्ति मृतावस्थामा फेला परेका छन् । मेचीनगर-८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणतिर अन्दाजी ३५ वर्षीय एक पुरुष मृतावस्थामा शुक्रबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, इलामको फाकफोक गाउँपालिका–३ निवासी ४५ वर्षीय राज थेगिमलाई शनिबार विर्तामोड नगरपालिका-३ स्थित सडकमा लडेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको थियो । अत्यधिक मदिरा सेवन गर्दै आएका थेगिमको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हुनसक्ने प्रहरी प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार