सुजन र सरस्वती समाजका उदाहरण

कुनै समय समाजले प्रश्न उठाएका सुजन र सरस्वतीका सम्बन्ध  सबैका लागि २५ वर्षपछि  प्रेरणाको स्रोत बन्न पुगेको छ ।

सुजन र सरस्वतीले २५ वर्षअघि अन्तरजातीय विवाह गर्नुभएको थियो । त्यो समयमा समाजले अन्तरजातीय विवाह सजिलै स्वीकार गर्दैनथ्यो ।

यद्यपि उहाँ दुवैले बागलुङ बजारको मुख्य चोकमा विसं २०६० भदौदेखि दुईवटा मेसिनबाट जनप्रिय टेलर्स स्थापना गर्नुभयो । फलस्वरुप  मनग्य आम्दानी मात्र गर्नु भएन, अन्य  छ व्यक्तिलाई  रोजगारी दिएका कारण समाजमा उहाँहरुको चर्चा चुलिएको छ ।

सङ्घर्षपूर्ण जीवन पार गर्दै अहिले सफल व्यवसायीका रुपमा आफूलाई स्थापित गरेका  खड्काको टेलरिङ व्यवसाय अहिले बागलुङ बजारकै राम्रो चलेको व्यवसायमा  पर्छ । कष्टले गाउँबाट सहर छिरेको सो जोडी कुनै बेला समाजबाट अस्वीकार थियो । अहिले त्यही समाजको उद्यमी बन्न सफल भएका छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका परियार र बानपा–८ सिगानाकी खड्काबीच विसं २०५७ मा चिनजान भएको थियो । एसएलसी परीक्षा दिन बजार आएकी खड्का र सिलाइ काम गर्दै अध्ययन गरिरहनुभएका परियारबीचको  प्रेम सम्बन्ध २०५८ जेठ १९ गते  विवाहमा रुपान्तरण भएको थियो ।

विवाहपछि बुटवलको सुख्खानगरमा बस्दा धेरैनै दुःख पाएका परियारले कुनै बेला बाग्लुङमा कोठा भाडा पाएका थिएनन् । उनकी श्रीमती  सरस्वतीलाई माइती पक्षले समेत स्वीकार गर्न १२ वर्ष लगाएको सुजनले बताउनुभयो । अहिले भने दुवैतर्फ पारिवारिक सम्बन्ध सामान्य बनेको छ । मेहनत र ग्राहकको विश्वासले व्यवसाय विस्तार हुँदै गएको उहाँहरुले बताउनुभयो ।

“अन्तरजातीय विवाह सफल बनाउन आत्मनिर्भर हुनुपर्छ,” सुजनले भन्नुभयो । “घरपरिवारको भरमा भन्दा आफैँ सक्षम भएर सङ्घर्ष गर्न सक्नुपर्छ,” सरस्वतीले भन्नुभयो । समाजमा अझै पनि जातीय विभेदपूर्ण रुपमा अन्त्य नभएको उल्लेख गर्दै उहाँहरुले मान्छेलाई जातका आधारमा विभेद गर्न नहुने बताउनुभयो ।

सम्बन्धित समाचार