नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार।

मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ ।
एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुग्ने बताइएको छ ।
सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा गरी १३ हजार ५१२ हेक्टर (अर्थात करिब १३५ वर्ग किलोमिटर) वन क्षेत्रफल ओगटेको छ । यो आयोजना महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीको बीचमा फैलिएको छ ।
