ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब ४८ करोड ८७ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले चालु खर्चतर्फ रु तीन अर्ब २५ करोड १८ लाख ५१ हजार र पुँजीगततर्फ रु चार अर्ब २३ करोड ६९ लाख २७ हजारको बजेट प्रस्तुत गरेको हो ।

उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको छ ।

यसैगरी बजेटमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र विकास, सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकासमार्फत रोजगार प्रवद्र्धन तथा गरिबी न्यूनीकरण, निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजसँग सहकार्य, प्रविधियुक्त एवं नागरिक मैत्री र जवाफदेही सेवा प्रवाह तथा प्रत्येक घरमा स्वच्छ खानेपानीलाई प्राथमिकता दिइएको छ ।

प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३६ करोड ५३ लाख ९० हजार र बागमती प्रदेश सरकारबाट रु १७ करोड ६३ लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै आन्तरिक आयबाट रु तीन अर्ब ३५ करोड ५० लाख सङ्कलन हुने अनुमान बजेटमा उल्लेख छ । त्यस्तै अन्तर सरकारी अख्तियारीबाट रु एक अर्ब ६ करोड २० लाख प्राप्त हुने अपेक्षा गरिएको छ । रु एक अर्ब ४७ करोड नगद मौज्दातबाट बेहोरिने उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकामा २०८३ को जेठ मसान्तसम्म रु तीन अर्ब ४३ करोड ७६ लाख ९१ हजार अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

यसअघि यही असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार