नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार।

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा उहाँहरुबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा नेपाल र अमेरिकाबीचको सम्बन्ध घनिष्ठ, सौहार्दपूर्ण तथा सहयोगात्मक रहँदै आएको बताउनुभयो ।
लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताका साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्व प्रदान गर्दै आएको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले आगामी दिनमा अमेरिकाले नेपालको विकासमा निरन्तर समर्थन र सहयोग जारी राख्ने विश्वास पनि आफूले लिएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भेटका अवसरमा कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्चस्तरमा पु¥याउन अमेरिका इच्छुक रहेको बताउनुभयो ।
उहाँले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अगाडि बढिरहेकामा सन्तोष व्यक्त गर्नुभयो ।
