
पुस्तकको नाम नै निक्कै लामो राखिएको लघुकथासङ्ग्रह उसको हातमा पर्यो । आख्यानको आश्वादन गर्ने उत्कृष्ठ अभिलाषा बोकेर उसले पुस्तक पल्टायो । पुस्तकको आरम्भमा भूमिकाका नाममा गरिएका प्रशंसाका फूलबुट्टा पढेपछि उसलाई लघुकथा आश्वादन गर्ने इच्छा झन तीब्र बनेर आयो ।
ऊ क्रमशः लघुकथा(!) आश्वादन गर्न थाल्यो । करिब एक डेढ पेज आयतन भएका सबैै रचनाहरू उसले सरसर्ती पढ्यो तर लघुकथा कतै पनि पाएन । ‘वरिष्ठ साहित्यकार’को कृतिमाथि शङ्का गर्ने कुरा पनि थिएन । लघुकथासङ्ग्रहमा उसले धेरै कुरा पायो तर लघुकथा चाहिँ पाएन ।
क्लिष्ठ शब्द भण्डार, प्रचुर मात्रामा पूर्वीय र पाश्चात्य साहित्यका अप्रचलित विम्ब र प्रतीकहरू, अबोधगम्यता, अति सङ्क्षिप्त गति पद्दति, कथातत्वको घोर उपेक्षा आदि विशेषताहरू रहे पनि आफूलाई ‘विशेष’ कायम गर्न गरिएको बौद्धिक परिश्रमको परिणाम् लाग्यो उसलाई त्यो कृति ।
अनि उसले बुझ्न सकेन भूमिका लेख्नेले गरेको अति प्रशंसा र विमोचनका नाममा गरिएको शाही भोजमा उपस्थित साहित्यकारहरूले दिएको बधाई तथा ‘नवीन प्रयोग’ पदावलीको गुढ रहस्यलाई ।
उसले सार निकाल्यो– साहित्यकार बन्नु त परको कुरा, सामान्य साहित्यिक प्रयोग बुझ्न सक्ने क्षमता पनि रहेन छ उसमा ।
१० असार ०८३

