अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

धनगढीमा आज आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै उहाँले नागरिकको जीउधनको सुरक्षा र राज्यको सुरक्षा गर्ने जिम्मेवारी सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्र सबैको साझा दायित्व भएको बताउनुभयो ।

“राज्यका सम्पूर्ण निकाय एकअर्काका परिपूरक हुन्,” मुख्यमन्त्री शाहले भन्नुभयो, “सबै निकायबीच समन्वय र सहकार्य भए मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।”

उहाँले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न सकेमा राज्यप्रति नागरिकको विश्वास बढ्ने बताउनुभयो ।

अनुसन्धान प्रणालीलाई प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउनुपर्नेमा मुख्यमन्त्री शाहको जोड थियो ।

सम्बन्धित समाचार