नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असार।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको बताउनुभयो । उहाँले जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओली भन्नुभयो, “हामीले गलत काम गरेर, देशकाविरुद्ध काम गरेर विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, बढेको होइन ।” आफ्नो पार्टीको नीति तथा कार्यक्रम र सही र समसामयिक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यगत एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने धारणा राख्दै उहाँले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेका दाबी गर्नुभयो । अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल बनाइँदै लैजाने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “समृद्धिसम्म हाम्रो यात्रा हो । हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो । हाम्रो गन्तव्य ठीक छन् ।” रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने र धुलो टकटक्याउँदै उठ्ने उहाँको भनाइ थियो । फाउण्डेशनले वर्ष २०८२ को ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’ लाई प्रदान गरियो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

