नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार।

जीवनमा कहिलेकाहीँ यस्ता मोडहरू आउँछन्, जहाँ मानिसले आफ्नो विगतलाई पछाडि छाडेर समाजका लागि नयाँ इतिहास लेख्न थाल्छ। बन्दुक बोकेर युद्धको मैदानमा वर्षौं बिताएका एक पूर्व जनमुक्ति सेना कमाण्डर आज असहाय, टुहुरा र बेवारिसे बालबालिकाको अभिभावक बनेर मानवताको नयाँ अध्याय लेखिरहेका छन्। यो कथा हो एकीकृत समृद्धि नेपालका संस्थापक अध्यक्ष भिमकुमार रोक्काको।
काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा २०६८ सालदेखि सञ्चालनमा रहेको एकीकृत समृद्धि नेपालले विगत १५ वर्षदेखि अभिभावकविहीन, टुहुरा, बेवारिसे तथा चरम गरिबीका कारण पढ्न र बाँच्नसमेत संघर्ष गरिरहेका बालबालिकालाई आश्रय, भोजन, शिक्षा, स्वास्थ्य र ममतापूर्ण वातावरण उपलब्ध गराउँदै आएको छ। हाल संस्थामा ३५ भन्दा बढी बालबालिका आश्रित छन्।
संस्थामा आश्रय लिएका अधिकांश बालबालिकाले आमाबुबाको माया गुमाएका छन्। कोही सडकमा भेटिएका थिए, कोही गरिबीका कारण विद्यालय छाड्न बाध्य भएका थिए भने कोही अभिभावकले पालनपोषण गर्न नसकेपछि यहाँ ल्याइएका हुन्। उनीहरूका लागि आज यही संस्था घर बनेको छ र भिमकुमार रोक्का अभिभावक बनेका छन्।
रोल्पाको थबाङ–४ मा जन्मिएका रोक्का तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वमा जनमुक्ति सेनाका कमाण्डर थिए। देश परिवर्तन, समानता र सर्वहारा वर्गको अधिकारका सपना बोकेर उनले आफ्नो परिवारसमेत छाडे र लामो समय भूमिगत जीवन बिताए। तर आज उनी विगत सम्झँदा भावुक हुन्छन्।
“हामीले देश बदल्ने सपना देखेर युद्ध लड्यौं। सर्वहारा वर्गको मुक्तिका लागि बन्दुक उठायौं। तर आज त्यही वर्ग सबैभन्दा बढी पीडामा छ। १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए, हजारौं घाइते भए, सयौं अझै बेपत्ता छन्। नेतृत्व भने सत्ता, सम्पत्ति र विलासितातर्फ उन्मुख भयो। युद्ध लड्ने साधारण कार्यकर्ताको जीवन कसैले सम्झिएन,” उनी भन्छन्।
उनको आवाजमा पीडा स्पष्ट सुनिन्छ। “कहिलेकाहीँ आफैँलाई सोध्छु-युद्ध आखिर केका लागि गरिएको रहेछ? नेतृत्वलाई अर्बौंको मालिक बनाउनका लागि? विगत सम्झँदा मन बेचैन हुन्छ। आफैँभित्र हराउँछु। परिवार टुट्यो, बालबच्चा साथमा छैनन्, सम्पत्ति पनि छैन। तर अहिले यी बालबालिकाको अनुहारमा मुस्कान देख्दा जीवनको अर्थ भेटेको छु।”
उनका अनुसार युद्धले धेरैलाई राजनीतिक उचाइमा पुर्यायो, तर हजारौं घाइते, बेपत्ता परिवार र साधारण कार्यकर्ताको पीडा भने अझै सम्बोधन हुन सकेको छैन। त्यही पीडालाई उनले आज मानव सेवामा रूपान्तरण गरेका छन्।
तीन तले एउटा घर भाडामा लिएर सञ्चालित आश्रयस्थलमा उनी बिहानदेखि रातिसम्म बालबालिकाको हेरचाह, विद्यालय, स्वास्थ्य, खानपान र दैनिक व्यवस्थापनमा व्यस्त हुन्छन्।
“यी बालबालिकाको भविष्य नै मेरो खुसी हो। उनीहरूको सफलतामै मेरो जीवनको अर्थ छ। अब बाँकी जीवन मानव सेवामै बिताउने निर्णय गरेको छु,” रोक्का भन्छन्।
तर यति ठूलो सामाजिक अभियान सञ्चालन गर्नु सहज छैन। न सरकारबाट नियमित सहयोग छ, न कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको स्थायी साथ।
“मनकारी दाताहरूले दिएको सहयोगबाट अहिलेसम्म संस्था चलिरहेको छ। कहिलेकाहीँ खर्च कसरी जुट्छ भन्ने चिन्ता हुन्छ। तर कसैको सानो सहयोगले पनि एउटा बालबालिकाको भविष्य जोगिन्छ भन्ने विश्वासले अघि बढिरहेको छु,” उनी सुनाउँछन्।
उनको आग्रह छ-यस्ता सामाजिक संस्थालाई स्थानीय, प्रदेश र संघीय सरकारले नीति र बजेटमार्फत संरक्षण गर्नुपर्छ। निजी क्षेत्र र समाजका सक्षम व्यक्तिहरूले पनि मानवताको यो अभियानमा हातेमालो गर्नुपर्छ।
यो समाचार किन लेखियो ?
जनक घिमिरेको जन्मदिन अवसरमा व्यक्तिगत खुसीलाई फरक ढंगले बाँड्ने सोच त्यहा तय भएको रहेछ , त्यसै क्रममा म, सञ्चारकर्मी नबराज घिमिरे, एकीकृत समृद्धि नेपालको आश्रयस्थल पुगेँ। त्यहाँ बालबालिकासँग समय बिताएँ, उनीहरूको जीवन भोगाइ नजिकबाट देखें र संस्थापक भिमकुमार रोक्काको संघर्ष, त्याग तथा सेवाभावलाई बुझ्ने अवसर पाएँ।
त्यहाँ पुगेपछि मैले महसुस गरेँ-यो केवल एउटा संस्था होइन, मानवताको विद्यालय रहेछ। यहाँ कसैले प्रचारका लागि होइन, भविष्य बचाउन जीवन समर्पण गरिरहेको रहेछ।
त्यही अनुभूतिले यो समाचार लेख्न प्रेरित गर्यो। यो समाचार कसैको प्रशंसा गर्न मात्र होइन, समाजमा रहेका संवेदनशील मनहरूलाई जोड्ने एउटा सानो प्रयास पनि हो। यदि यो सामग्री पढेपछि एक जना व्यक्तिले पनि एउटा बालबालिकाको शिक्षा, भोजन वा भविष्यका लागि सहयोग गर्ने निर्णय गर्नुभयो भने यस समाचारको उद्देश्य पूरा भएको ठान्नेछु।
यदि तपाईं पनि यस मानवीय अभियानमा साथ दिन चाहनुहुन्छ भने एकीकृत समृद्धि नेपालका संस्थापक अध्यक्ष भिमकुमार रोक्कालाई ९८५६०४५८९५ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुन्छ।
कहिलेकाहीँ एउटा सानो सहयोगले कसैको सम्पूर्ण भविष्य बदलिदिन्छ। मानवताभन्दा ठूलो धर्म अर्को छैन।

