नवकान्तिपुर संवाददाता
चितवन, ३२ असार।

चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेङ्गु देखिएको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपािलकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेङ्गुको सङ्क्रमण देखियो ।
गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । १७ हजार ३५३ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको केसीले बताउनुभयो । सो आर्थिक वर्षमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको थियो ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गरेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सक बताउँछन । उक्त लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने केसीले जानकारी दिनुभयो ।
उक्त लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने उहाँको भनाइ छ ।
डेङ्गु लागेपछि आँखाको गेडी तथा टाउको, शरीर, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने तथा शरीरमा बिबिरा आउने रक्तस्राव हुने र उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्छ । डेङ्गु ज्वरोबाट बच्नु लामखुट्टेको टोकाइबाट जोगिन पर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताउनुभयो ।
