कथासङ्ग्रह ‘डोपामिन’ : एक पठनीय साहित्यिक कृति

लक्ष्मण अधिकारीको नयाँ कथासङ्ग्रह ‘डोपामिन’ हालै नेपाली साहित्यिक बजारमा सार्वजनिक भएको छ । स्वनामधन्य केही साहित्यकारका नाममात्रका कृति बजारमा आइरहेको बेला आफ्नै मौलिक स्वाद बोकेर आएको कथाकार अधिकारीको यो कृति पठनीय र स्तरीय लाग्दछ ।

कथाकारको ‘मर्फिन’ कथासङ्ग्रह प्रकाशनपछि ‘डोपामिन’ सार्वजनिक भएको छ । मर्फिनमा विशेष गरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विविध पक्षहरू समेटेर २१ वटा कथाहरूको सङ्ग्रह प्रकाशित भएको थियो भने ‘डोपामिन’मा १८ वटा मिश्रित विषयवस्तु समेटिएका कथाहरू समावेश छन् । साइबर अपराध, स्वास्थ्य क्षेत्रका विसङ्गति, बालमनोविज्ञान र मानवमनोविज्ञान, नारी–पुरुष सम्बन्धका विविध आयामको चिरफारलगायत समाजका जटिलताहरू आदिले यथोचित स्थान पाएका कथाहरू मौलिक स्वादका छन् ।

साहित्यिक आस्वादनका हिसाबले सङ्गृहीत सबै कथाहरू आ–आफ्नै स्वाद र विशेषता रहेका छन् । कुनै पनि कथाले पाठकलाई निराश गराउँदैनन् । खुसीको डिग्रीचाहिँ फरक हुन सक्छ । चिया र समोसा दुवैले आनन्द दिन्छन् तर दुवैले दिने सन्तुष्टि फरक फरक हुन्छ ।

आख्यानको सामान्य मीमांसा गर्दा आख्यान तत्त्वहरू (कथानक, पात्र/चरित्र, देशकाल/वातावरण, उद्देशय, कथोपकथन, भाषाशैली, शीर्षकको सार्थकता, दृष्टिबिन्दु, गतिपद्दति, प्रतीक र विम्ब) आदिलाई आधार बनाउने गरेको पाइन्छ ।

तत्त्व र बुनोटका हिसाबले हेर्दा डोपामिनका हरेक रचनामा यस्तो भइदिएको भए अझ राम्रो हुने थियो भन्ने ठाउँ रहन्छ (यो रहिरहन्छ पनि) । यस सङ्ग्रहका कथामा पनि केही सीमा होलान् तर समग्रतामा राम्रा छन् । कथामा उपस्थापन गरिएका सबै पात्रहरूको चिन्तन र भाषाशैली उच्च बौद्धिक स्तरको हुनु, अनुच्छेद अलिक लामा खालका रहनु, कथाका कतिपय शीर्षकहरूले विषय–सन्दर्भको भार बहन गर्न सकेनन् कि भन्ने अनुभूति हुनु आदि सीमाका रूपम औंल्याउन सकिएला ।

तर, द्वन्द्व र कार्य–कारण सम्बन्धको राम्रो संयोजन गरिएको छ । सबै रचनाहरू कौतुहल र जिज्ञासाले कथा पढ्न आरम्भ गरेपछि अन्त्य नहुञ्जेलसम्म पाठकलाई बाँधेर राख्न सफल छन् । प्रत्येक कथाले केही न केही सन्देश प्रवाह गरेका छन् । सबै कथाहरू सरल र बोधगम्य छन् । कतिपय कथाहरूमा वृत्तकारीय शैली भए पनि अधिकांश कथा रैखिक ढाँचामा गतिशील छन् । दृश्यात्मक गतिपद्दतिको सुन्दर प्रयोगले पढ्दै जाँदा पाठकको मानस पटलमा कथाका दृश्यहरू सजीव रूपमा उत्रन्छन् । कथा प्रस्तुतिका हिसाबले प्रथम दृष्टिबिन्दु, तृतीय दृष्टिविन्दु र कुनैमा मिश्रित दृष्टिबिन्दुको प्रयोग भएको छ ।

कथासङ्ग्रहको नाम ‘डोपामिन’ राखिएको छ । यो शब्द स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ । डोपामिन मानव मस्तिष्कमा बन्ने एक महत्वपूर्ण स्नायु सन्देशवाहक रसायन हो । यसले स्नायु कोषहरूबीच सन्देश आदान–प्रदान गराउन मद्दत गर्दछ । यसलाई धेरैले खुसीको रसायन भनेर बुझ्ने गर्छन् तर त्यो त्यतिमा सीमित छैन । वास्तवमा डोपामिनले प्रेरणा, सिकाइ, पुरस्कारको अनुभूति, ध्यान, निर्णय क्षमता र शरीरको चालचलन नियन्त्रण गर्ने जस्ता धेरै महत्वपूर्ण काम गर्दछ, भनिन्छ ।
कथासङ्ग्रहको नाम किन यस्तो जुराइयोे होला त ?

साहित्यको आश्वादनले पनि मानिसलाई आत्मिक खुसी दिन्छ । मानव मनको विरेचन मात्र गर्दैन, यसले कुनै नयाँ काम गर्न वा नयाँ सोच निर्माण गर्न वा नयाँ अन्वेषण गर्न पाठकलाई उत्प्रेरित पनि गर्दछ, प्रेरणा प्रदान गर्दछ । त्यसैले प्रतीकात्मक रूपमा कथासङ्ग्रहको शीर्षक चयन गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

अब सङ्गृहीत १८ वटै कथाहरूको सार सङ्क्षिप्त रूपमा बुझ्ने प्रयनस गरौं ।

रिफर नहुँदा : 
कुनै डाक्टरले आफूलाई पूर्ण जानकारी नभएको रोग भएको विमारीलाई समयमा नै सम्बन्धित विशेषज्ञ डाक्टरकोमा रिफर नगरेका कारण विमारीले असमयमा नै जीवन गुमाउनु परेको दुःखद् पक्षलाई देखाउँदै मृतकका छोराको मनोदशालाई कथामा कलात्मकता प्रदान गरिएको छ । कथामा अस्पतालमा हुने यस्ता लापर्वाहीका घटनाले गर्दा कति विमारीहरूले अकालमा जीवन गुमाउन बाध्य हुन्छन् भन्ने कुरालाई विमारी ‘बुबा’ पात्रका माध्यमबाट यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
दृश्यात्मक गतिपद्दति, कथानकको सघन प्रस्तुति, कार्य–कारणको सम्बन्ध, परिवेशको जीवन्त चित्रणआदि यस कथाका सबल पक्ष हुन् ।

तीतो बरफ :
प्रस्तुतिका हिसाबले वर्गीय चरित्र र बालमनोविज्ञानको उत्कृष्ठ नमुना हो– तीतो बरफ । आर्थिक सम्पन्न र विपन्न दुई समवयका बालिकाको बालसुलभ चरित्रमा केन्द्रित भएर रचना गरिएको यस कथाले रबरलाई पनि सीमाभन्दा बढी तन्कायो भने चुँडिन्छ, र यसरी चुँडिदा रबर समातेका हातमा पनि चोट दिनसक्छ भन्ने कुरालाई सिमरनले बहुप्रतीक्षित बरफलाई लामो समयसम्म एकपल्ट पनि चुस्न नदिँदा उसैको स्कुल ब्याग बोकेर सहयोग गर्ने खुसीदेवीको मनमा आएको विद्राह भावले सङ्केत गर्दछ । दुई बालिकाको माध्यमबाट फरक आर्थिक अवस्थाले जीवनशैलीमा मात्र होइन, चिन्तनशैलीमा समेत फरक पार्दछ भन्ने कुरालाई कलात्मक रूपमा प्रस्तुत गर्न कथाकार सफल देखिन्छन् ।

बालबालिकामा पनि कुनै न कुनै रूपमा वर्गीय चरित्र देखिन सक्छ भन्ने भाष्यलाई यस कथाले पनि अनुमोदन गर्न सक्छ । अत्यन्त सरल भाषाशैलीमा गतिशील कथानकले कार्य–कारणको सम्बन्धलाई राम्ररी प्रस्तुत गरेको छ । ‘अमिलो अङ्गु्र’ कथासँग समभाव राख्ने ‘तीतो बरफ’ बालमनोविज्ञानका दृष्टिले अत्यन्त सुन्दर प्रस्तुति मान्न सकिन्छ ।

पश्चातापको आगो :
नीलो स्कुटरवाली पश्चातापको आगोमा जलेकी छ, यद्दपि जीवन नै उत्सर्ग गर्ने गरी उसले अपराध गरेकी भने देखिँदैन । दैनिकजसो सवारी दुर्घटना भइरहन्छन् । त्यस दिन पनि त्यस्तै भयो । मानवीय कमजोरीका कारण साइडलाइट एकातिर बालोको स्कुटर अर्को दिशातिर मोडिँदा अप्रत्यासित रूपमा आफ्नो प्रेमीले चलाइरहेको बाइक दुर्घटनामा पर्छ । ऊ आफैं पनि सोही दुर्घटनामा परी घाइते हुन पुग्छे । तर, त्यही दुर्घटनाका कारण आफ्नो प्रेमीको मृत्यु भएको खबर सुनेपछि भने नीलो स्कुटरवाली आफ्नो कारणले प्रेमीको ज्यान गएको मानेर दुःखी हुन्छे, विक्षिप्त बन्दछे । प्रेमीको वियोगमा अन्ततः आफू पनि आत्महत्या (!) गर्न पुग्छे । यसरी कथा वियोगन्त बन्न पुग्दछ ।

यस कथामार्फत् सार्वजनिक हुन नसकेको प्रेम–पीडाले कलात्मकता पाएको छ । बाइक स्कुटर लिएर काठमाडौंमा विचरण गर्ने केटा÷केटीले एक अर्कोलाई लिएर बनाउने मनोवैज्ञानिक धारणले कथामा विशेष स्थान पाएको छ ।

एक आरोपको मूल्य :
इन्जिनियर बन्ने सपना बोकेकी एउटी युवती परिबन्दमा परेर देह–व्यापारको कलङ्कित दुनियाँलाई कसरी आत्मसात् गर्न बाध्य भई भन्ने विषयले कलात्मकता पाएको यस कथाले मानवीय संवेगलाई अझ विशेष गरी युवतीहरूको मानसिक संवेदनालाई स्पर्श गरेको छ । कुनै घटना सुनेका भरमा वा सामाजिक सञ्जालमा आएका भरमा मानिसहरूले बनाउने अपरिपक्व अनुमान, आफ्नै परिवारको पनि असंवेदनशीलता र सञ्चारमाध्यमहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रदाँ एउटा ठूलो सपना बोकेकी जेहेन्दार तर निर्दोष युवती परिबन्दको सिकार भएकोे मार्मिक कथा हो– एक आरोपको मूल्य । यसलाई नेपाली सामाजको एक प्रतिनिधि कथा पनि मान्न सकिन्छ ।

लधुआयामिक भएर पनि नखाएको विषले प्रताडित नेपाली समाजको एउटा मार्मिक पक्षको उद्घाटन गर्ने यो कथा धेरैको अव्यक्त कथा पनि हुन सक्छ । ‘मानिसको भाग्य भावीले होइन, परिवार, समाज र परिस्थितिले पो लेख्तो रहेछ’ भन्ने पिडीत युवतीको भनाइले पाठकलाई भावुक मात्र बनाउँदैन, परिवार र समाजलाई कुनै निर्णय लिनुअघि धेरै पटक सोच्न बाध्य पनि बनाउँछ ।

चँगेरीको माया :
कथासङ्ग्रहको पाँचौ क्रममा रहेको ‘चँगेरीको माया’ मानवीय संवेदनाको एउटा गम्भीर पक्ष देखाउने एक सुन्दर कथा हो । मन खोलेर रुन पाउनु पनि मानवीय कुण्ठा विरेचन गर्ने एउटा राम्रो र सरल विकल्प हो भन्ने सन्दर्भलाई नाटकीय रूपमा प्रस्तुत गरिएको यस कथाको अन्त्यले पाठकलाई भावुक बनाउँछ ।

मानिसका समस्याहरू र त्यसले पार्ने प्रभाव पनि फरक फरक हुन्छ । कसैले मानेको पीडाको भारी अरू कसैका लागि ‘यस्तो पनि पीडा हुन्छ र !’ भनेजस्तो लाग्न सक्छ । कथानक रोचक ढङ्गले गतिशील हुँदा पाठक ‘अब के होला’ भन्ने जिज्ञासाको डोरीमा बाँधिन पुग्छन् । अन्य कथाको तुलनामा यसमा पात्रको बहुलता भए पनि उचित व्यवस्थापन गरिएकोले पाठकलाई रमाइलो नै लाग्दछ ।

उसको ठाउँमा बसेर :
आफूमात्र ठीक देख्ने तर दुनियाँलाई आशङ्काको दृष्टिले हेर्ने मानवीय मनोवृत्तिको पर्दाफास गर्ने उद्देश्य बोकेको यस कथाले पाठकलाई ‘अब के हुन्छ’ भन्ने कौतुहलले अन्त्यसम्म बाँधेर राख्दछ । कुरौटे उषाका कारण झण्डै झण्डै कर्मशील र इमानदार मधुको जीवन तहसनहस हुनबाट जोगिन्छ । मधु दुर्घटनाबाट बँच्दा पाठकलाई पनि राहत महसुस हुन्छ ।

हाम्रो समाजमा विद्यमान ईर्ष्यालु प्रवृतिमाथि धावा बोल्ने प्रस्तुत कथा सरल भइकन पनि गम्भीर विषयलाई कलात्मकता दिन सफल छ । बरु कथाको विषयगत गाम्भीर्यतालाई शीर्षकले बहन गर्न सकेन कि झैं लाग्दछ । सन्देश प्रवाहका हिसबले कथा उत्तम छ ।

सपना साँचेको जून :
मानव समाजले ‘जीउँदो ईश्वर’को संज्ञा दिएका डाक्टरहरूको असावधानीले एउटा सामान्य विमारी मृत्युशैय्यामा पुग्न बाध्य हुन्छ । अस्पतालको नजरमा एउटा व्यक्तिको निधन भएको देखिए पनि ऊबाट आश्रित ठूलो समूह टुहुरो हुने विषयलाई कथामा गम्भीर रूपमा उठाइएको छ । परिवेश पनि जीवन्त लाग्छ । सबै डाक्टरहरूलाई अविश्वास गरिनुहुन्न तर सबै डाक्टर विश्वासयोग्य पनि हुँदैनन् भन्ने कुरालाई कहिलेकाहीँ मिडियामा आउने डाक्टर कुटिएको समाचारले पनि पुष्ट्याइँ गर्दछ । यसै मेसोमा बुनिएको कथाले कसैलाई पनि आँखा चिम्लेर विश्वास गरिहाल्नु नहुने रहेछ भन्ने साहित्यिक सन्देश दिन्छ ।
न सुसाइड, न हनिमुन :
वैदेशिक सपना बोकेर अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया आदि मुलुकहरूमा पुगेका युवा पुस्ताको प्रतिनिधि कथा हो– न सुसाइड, न हनिमुन । मोहित र ईलाका माध्यमबाट विवेच्य कथामा वैवाहिक सम्बन्ध कायमभइसकेपछि पनि आर्थिक प्रलोभनमा परी छुट्टिने गरेको तथ्यलाई साहित्यिक अभिव्यक्ति दिइएको छ । कथानकको अन्त्य केही नाटकीय लागे पनि हनिमुन पनि मनाउन नपाई छ्ट्टिएर बस्नुपर्दाको पीडाले कलात्मकता पाएको छ ।

सम्बन्धको सीमारेखा :
कुरकुरे बैंश चढेको अनुराग आफैंलाई पढाउने शिक्षिका कस्तुरी म्यामको एक दिन ‘घामले नदेखेको अङ्ग’ देखेपछि मोहित हुन्छ र आफ्नै म्यामलाई कामुक दृष्टिले हेर्न थाल्छ । ऊ कस्तुरी म्यामप्रति आकर्षित हुन्छ र एकतर्फी माया गर्न थाल्छ । कस्तुरी म्यामको रूपमा लट्ठिएपछि कलेजका अरू युवतीहरूलाई पनि ऊ फिका देख्न थाल्छ । कस्तुरी म्यामलाई एकान्तमा भेट्ने ईच्छाले उत्कर्षता पाइरहेको बेला म्यामले उसलाई घरमा नै भेट्न बोलाएपछि खुसीले पुलकित बन्छ । ऊ म्याम (प्रेमिका)का लागि उपहार लिएर उनको घर पुग्दा म्यामको अर्कोसँग बिहे हुन लागेको देखेपछि अनुराग विक्षिप्त बन्न पुग्छ ।

अनुराग मनोरोगी पात्र हो । आफूले प्रेमिकाको रूपमा हेरेकी कस्तुरी म्यामलाई नपाएपछि ऊ स्वपीडन ग्रन्थिबाट प्रताडित बन्छ र पलायनको बाटो रोज्न पुग्छ । यो एक मनोवैज्ञानिक कथा भएकोले त्यसका लागि उपस्थापन गरिएको कथानक, पात्र, परिवेशआदिको राम्रो चित्रण गरिएको छ ।

प्रोफाइलभित्रको सिकारी :
कथामा फेसबुक (सामाजिक सञ्जाल)ले ल्याउन सक्ने विकृति देखाउने उद्देश्यले तयार परिएको कथानक, परिवेश, पात्र–विधान, कार्यकारणको सम्बन्ध सबै समयसापेक्ष लाग्दछन् । पढ्न आरम्भ गरेपछि अन्त्य कसरी होला भन्ने जिज्ञासाले पाठकलाई बाँधेर राख्न कथा सफल छ । कथानकको बुनोट र भारका आधारमा कथा शीर्षक अलिक ओजहीन भयो कि भन्ने भान पाठकलाई लाग्न सक्छ ।

कथा समसामयिक र मार्मिक छ । कथा पात्र मृदुलालाई प्रतिनिधि पात्र बनाएर कथानक गतिशील भएको छ ।

मनको कालो डायरी :
मनोरोगी र विकृत मानसिकताले ग्रसित आमाले आफ्नै छोराको हत्या गर्न पुग्छिन् तर चेतमा आएपछि त्यही पश्चातापको अग्निमा आफूलाई समाहित गर्न पुग्छिन् । यस कथा–व्यथालाई देखाउन तयार पारिएको पारिवारिक र सामाजिक वातावरण भने भयानक देखिन्छ । आन्तरिक द्वन्द्व र घटनाक्रमको विकास तथा लेखनशैलीको आकर्षणले पाठकलाई बाँधेर राख्न कथा सफल लाग्छ । कथामा ग्रामीण परिवेश र अन्धविश्वासको जगमा उभिएको समाजमा यदाकदा सुनिने विषयले कलात्मकता पाएको छ ।

अतृप्त शरीर :
यस कथामा आफ्नै घरमा डेरा बस्ने युवकसँग घरवालाकी बुहारीको शारीरिक आकर्षणले साहित्यिक रूप धारण गरेको छ । कुलतमा लागेर बिग्रिएको आफ्नो पतिबाट शारीरिक प्यास मेटाउन नपाएपछि पानीको खोजी गर्दै बुहारी आफ्नै घरमा डेरा गरी बस्ने युवकको कोठासम्म पनि पुग्छे । सम्पत्ति भएपछि जस्तो केटा भए पनि छोरीको बिहे गरिदिने कुसंस्कारको एउटा झाँकी बनेको छ यो कथा । कथामा ‘अब के हुन्छ ?’ भन्ने कौतुहलले पाठकलाई अन्त्यसम्म बाँधेर राख्दछ ।

पतिबाट स्वाभाविक रूपमा पाउनुपर्ने यौनानन्द नपाएपछि ‘अतृप्त शरीर’ धारणा गरेकी युवती/बुहारीले त्यसको क्षतिपूर्ति बाहिर खोजी गर्नु अस्वाभाविक देखिँदैन । तर डेरा गरी बस्ने ‘म’पात्र अलिक बढी आदर्शवादी देखिन्छ । चेतन मनले निषेध गरेपनि सुन्दरीको समिपताले उसको अचेतन मन डगमगाउनु पर्ने हो तर त्यसो नभएको नियन्त्रित देखिन्छ । धनी बाबुआमाको बिग्रेका छोराको भूमिकामा घरपतिको छोराको चरित्र ठीकै लाग्दछ । गलत कामको परिणाम् पनि गलत नै हुन्छ, यस कथाले पनि यही भाष्य बोकेको छ ।

पलायन जिन्दगी :
मिठो सपना बोकेर अमेरिका, बेलायत, अस्ट्रेलियाआदि देशमा पुगेपछि दाम्पत्य जीवनमा दरार पैदा भई कतै श्रीमान्ले छाडेका, कतै श्रीमतीले टाडेका धेरै कथाहरू सुन्न पाइन्छ । यसै मेसोमा बुनेको यो कथामा पनि बीएस्सी नर्सिङ गर्दै गरेकी युवती अरुको लहैलहैमा लागेर अमेरिका पुगेकी, शेखर (श्रीमान)सँग छुट्टिनु परेको आदि घटनाक्रमले कलात्मकता पाएको छ ।

विदेशी भूगोलमा पुगेपछि हरकोही आफूलाई बन्धनमुक्त वा स्वतन्त्र भएको महसुस गर्ने र दाम्पत्य जीवनमा बाँधिए पनि अर्को वा अर्कीसँग आकर्षित हुने गर्छन् । तर त्यस्ता घटनाले प्रायः दुःखद् परिणाम ल्याउने गरेको समाचारहरू नेपालमा बसेर पनि सुन्न पाइन्छ । यस्तै समाचारले यस कथामा साहित्यिक अभिव्यक्ति पाएको छ । मानिसका कुण्ठा पोख्ने माध्यम बनेका सामाजिक सञ्जाल र द्विअर्थी भाषाशैलीले पनि कथामा स्थान पाएको देखिन्छ ।

विश्वासघात :
वैदेशिक राजगारीका नाममा हुने गरेका ठगी धन्दाकी प्रताडित तर प्रतिनिधि पात्र हो– शिखरा । उसैको माध्यमबाट कथाकारले वैदेशिक रोजगारीका नाममा महिलाले भोग्नु परेको प्रताडना, मालिकको अमानवीय र यौनिक दुव्र्यवहार, चन्द्रबहादुरजस्ता द्रव्य पिसाचहरूको जालमा परी नर्कमा जान बाध्य आर्थिक सामाजिक रूपमा विपन्न नेपाली चेलीले भोग्नु परेको असीम पीडाले कथामा साहित्यिक अभिव्यक्ति पाएको छ ।

मनमा हजारौं सपना सजाएर साउदी उड्दै गरेकी शिखराको उत्साह र हजारौं ठक्कर खाएर नेपाली दुतावासको सहयोगमा नेपाल फर्कंदै गरेकी विवश र निराश शिखराको द्वन्द्वात्मक मनस्थितिले कथामा कलात्मकता पाएको छ । घरायसी काम गर्न गएकी घरकै मालिकले गर्ने गरेको यौन शोषण र अमानवीय व्यवहार, बगैंचे बङ्गाली र ट्याक्सी ड्राइभरको विश्वासघात आदि शिखराका भोगाइहरू वास्तविकताको नजिक लाग्दछन् । कथा पढ्दैजाँदा शिखराको पीडामा पाठक पनि पिडीत बन्दछन् ।

हाई लण्डन, बाई लण्डन :
यस कथामार्फत् पछिल्लो समयमा सामाजिक सञ्जालमा बारम्बार आइरहने समाचारले साहित्यिक अभिव्यक्ति पाएको छ । मार्था असत् चरित्र भएकी एक प्रतिनिधि पात्र हो । अध्ययनको सिलसिलामा बेलायतको लण्डन पुगे पनि नाम नखुलेको युवक समयसापेक्ष चतुर बन्न नसक्ता आफ्नै श्रीमतीबाट हुस्सु दण्ड पाएको मार्मिक प्रसङ्गलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

विदेशमा ‘कफी सप’ कुनै न कुनै रूपमा चर्चाको विषय बनिरहन्छ । प्रेमाङ्कुर पनि कफी सपमा हुन्छ । मिटिङ प्वइन्ट पनि कफी सप नै बन्छ र विरक्तिएको मन बहलाउने ठाउँ पनि कफी सप नै हुन्छ । यसै मेसोमा लण्डनस्थित थेम्स नदी किनारमा रहेको रिभरसाइड क्याफेले कथामा विशेष स्थान पाएको छ । लण्डन शहरको शब्दचित्रले पाठकलाई रोमाञ्चक बनाइदिन्छ ।

कथानक खास्सैै घुमाउरो नभएका कारण कथा अन्त्यमा नपुगी पाठकहरूले कथाको परिणाम् अनुमान गर्न सक्दछन् ।

ममता :

पारिवारिक पृष्ठभूमिमा यो एक बालमनोवैज्ञानिक कथा हो । परिवारभित्र आपसी मेल भएन भने अथवा नानीबाबुले घरमा बालसुलभ वातावरण पाएनन् भने अथवा आमाबाबुको ममतामा नै खोट देखियो भने घरमा हुन सक्ने दुर्घटनालाई ममता कथाले आफ्नो विषयवस्तु बनाएको छ । यस कथाले हरेक घरमा सद्भावपूर्ण मेलमिलाप र बालसुलभ वातावरण निर्माणका लागि साहित्यिक आग्रह गर्दछ । बाल हृदयमा लागेको चोट औषधिले भन्दा पारिवारिक स्नेह भावले चाँडै निको पार्न सक्छ भन्ने सन्देश प्रवाह गर्न कथा सफल छ । पाठकलाई कौतुहल बनाउँदै कथानक गतिशील हुन्छ ।

अंकिताका रुखो व्यवहारका कारण सौतेनी छोरी दृश्या मृत्युको मुखमा पुगेकी हुन्छे । पछिल्लो समयमा अचानक अंकिताको मन र व्यवहारमा सकारात्मक परिवर्तन भएसँगै ‘निको हुन गारो छ’ भनेको दृश्याको रोग निको हुनुले बाल मस्तिष्कमा पारिवारिक वातावणले पार्न सक्ने सकारात्मक÷नकारात्मक प्रभावले कथामा उचाइ पाएको छ ।
परिबन्धको कमाइ :
कसैलाई अपहरण गरेर फिरौतीका नाममा ठूलो धनराशि माग गर्नु किमार्थ राम्रो कुरा होइन तर कथाकारले गलत ढङ्गले कमाएको अकुत सम्पत्ति पनि ‘जसरी आयो त्यसरी नै जान सक्छ’ भन्दै आफ्नो भूमिका र जिम्मेवारी अनुसार सबैलाई सदाचारको जीवन जीउन कथामार्फत् साहित्यिक सन्देश दिएका छन् ।

कथामा वरिष्ठ डाक्टर ललित सिंहले आर्थिक प्रलोभनमा परेर आफ्नो र अस्पतालको लाभको लागि गलत ढङ्गले आर्थिक आर्जन गरेका छन् । तर विमारीको ढाड सेकेर आर्जेको उनको सम्पत्ति पनि गलत रुपमा नै खर्च भएर जान्छ । अन्त्यमा डाक्टर स्वयम् पनि यही निष्कर्षमा पुग्छ । डाक्टर ललित सिंहलाई प्रतिनिधि पात्र बनाएर कथाकारले सबैलाई सदाचारको जीवन निर्वाह गर्न साहित्यिक आग्रह गरेका छन् ।

कथानक हाम्रै समाजबाट लिइएको हो । त्यसैले पात्र र उनीहरूको कार्यव्यापार, वातावरण र द्वन्द्वात्मक परिस्थिति सबै स्वाभाविक लाग्दछन् ।

धर्मपुत्र :
धर्मपुत्रको नाममा नेपालबाट बर्लिन पुगेको बालक पीताम्बर (पिटर)को भोगाइको मार्मिक कथा हो– धर्मपुत्र । पीताम्बरका आमाबाबुलाई आर्थिक प्रलोभनमा पारेर तथा पीताम्बरलाई ठूलो मान्छे बनाइदिने भ्रम बाँडेर उसलाई बर्लिन पुर्याइन्छ । पीताम्बरका आमाबाबु भने छोरो ठूलो मान्छे बनेर तथा धेरै धन कमाएर फर्केला भन्ने प्रतीक्षामा हुन्छन् तर उता बर्लिन पुर्याइएको पीताम्बरको कथाव्यथा भने अवर्णनीय हुन्छ । कथामा द्वन्द्वात्मक स्थिति सिर्जना गरेर कथाकारले धर्मपुत्र÷धर्मपुत्रीका नाममा हुने कालो कर्तुतको पर्दाफास गरेका छन् । पीताम्बर केवल एक प्रतिनिधि पात्र हो ।

डोपामिन कथासङ्ग्रहका सबै कथाका स्वाद र सन्देश फरक फरक छन् । मर्फिनमा लागेको आरोपलाई कथाकारले यस कृतिमाफत् साहित्यिक खण्डन गरेका छन् ।

हरेक समाजमा सङ्गति र विसङ्गति दुवै भएजस्तै हरेक मानिसभित्र पनि सकारात्मक र नकारात्मक वृत्तिहरू द्वन्द्वात्मक स्थितिमा रहेका हुन्छन् । देवीभागवत पुराणमा वर्णित देवता र राक्षसको युद्ध प्रतीकात्मक रूपमा हरेक मानिसभित्र घटित भइरहेको हुन्छ । जसले आफूभित्र रहेको राक्षसी प्रवृत्तिलाई परास्त गर्न सक्छ, उही व्यक्ति महान् हुने हो । राक्षसी प्रवृत्तिले हावी हुने अवसर पायो भने जो कोही पनि विषालु बन्न सक्छ । साहित्यले पनि मानिसलाई उनीहरूको मनको विरेचन गर्दै आ–आफ्नो स्थान र भूमिकामा सकारात्म हुन आग्रह गर्ने हो । यस अर्थमा पनि डोपामिन अब्बल छ ।

सम्बन्धित समाचार