नवकान्तिपुर संवाददाता
कक्स बजार (बङ्गलादेश), ५ साउन।

म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको क्रम रोकिएको छैन ।
२५ वर्षीया राहेला बेगम त्यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल हुनुभएकामध्ये एक हुनुहुन्छ । सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुग्नुभएकी उहाँले शिविरमा बढ्दो कठिनाइपछि गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रा सुरु गर्नुभएको थियो ।
करिब २८० जना यात्रु बोकेको डुङ्गा चार दिनपछि अन्डमान सागरमा डुबेपछि उहाँ दुई दिन र एक रात काठको एउटा पाटामा अडिएर समुद्रमा बग्नुभएको थियो । अन्ततः उद्धार जहाजको ध्यानाकर्षण भएपछि उहाँको ज्यान जोगिएको थियो ।
“मैले एउटा काठको फलेक समात्न सफल भएँ । त्यसैको सहारामा दुई दिन र एक रात बिताएँ । म मृत शरीरजस्तै समुद्रमा तैरिरहेको थिएँ, धेरै प्रयासपछि मात्र टाउको उठाएर उद्धारकर्ताको ध्यान खिच्न सकेँ”, उहाँले भन्नुभयो ।
हाल कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न वा रोजगारी गर्न नदिने नीति अपनाएको छ । यही अवस्थाले धेरैलाई समुद्री मार्गबाट मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण निर्णय गर्न बाध्य बनाइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ मा छ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्गबाट शिविर छोड्ने प्रयास गरेका थिए । तीमध्ये करिब ९०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।
यस वर्ष जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा थालेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो ।
मानव बेचबिखन गर्ने गिरोहले राम्रो जीवनको आश्वासन दिँदै शरणार्थीलाई प्रलोभनमा पार्ने गरेका छन् । कक्स बजारबाट करिब एक घण्टाको दूरीमा रहेको टेकनाफबाट यात्रुहरूलाई ट्रलरमार्फत समुद्रमा पु¥याइन्छ र त्यसपछि ठूला जहाजमा सारेर दक्षिणपूर्वी एसियातर्फ पठाइने गरेको छ ।
नाम नखुलाउने सर्तमा एक तस्करले प्रत्येक यात्राबाट आफूले दुई लाख ५० हजार टकासम्म आम्दानी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँका अनुसार यस्तो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ ।
बङ्गलादेशी अधिकारीहरूले भने मानव बेचबिखन नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन् । तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष मात्रै ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ । नाफ नदी क्षेत्रमा नियमित गस्ती भइरहेको र थप घटना रोक्न अधिकतम सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।
यद्यपि स्थानीय अधिकारीहरूले सीमित स्रोतसाधनका कारण मानव बेचबिखनको सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको स्वीकार गरेका छन् । कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । उहाँले अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुने र तस्करहरूको प्रभाव बलियो रहेकाले कारबाही चुनौतीपूर्ण बनेको बताउनुभयो ।
स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानले रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले समस्या अझ जटिल बनेको उल्लेख गर्नुभयो ।
युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाले शिविरको कठोर जीवन नै पलायनको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार धेरै शरणार्थी दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोगमा जीवन गुजार्न बाध्य छन्, त्यसैले राम्रो भविष्यको आशामा उनीहरू जोखिमपूर्ण यात्रा रोजिरहेका छन् ।
उहाँले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताउनुभयो । तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी द्वन्द्व अझै रोकिएको छैन । अमेरिकास्थित संस्था एसीएलइडीका अनुसार उक्त द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
कक्स बजारस्थित बाँस र त्रिपालले बनेको आफ्नो अस्थायी बासमा फर्किनुभएकी राहेला बेगमले समुद्री दुर्घटनासँगै आफ्नो स्वतन्त्र जीवनको सपना पनि डुबेको बताउनुभयो ।
“भगवानले मलाई कतै पनि शान्ति दिनुभएन । आफ्नै देशमा पनि होइन, यहाँ पनि होइन”, उहाँले पीडाभाव व्यक्त गर्नुभयो ।

