विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताउनुभएको छ । कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा उहाँले त्यो समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको दाबी गर्नुभयो ।

“त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,” उहाँले भन्नुभयो, “विगतको कालोदिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने बेला आएको छ ।” सभापति थापाले नेपाली कांग्रेस जुन मूल्यमान्यता र सिद्धान्त अनुसार नै अघि बढ्ने बताउनुभयो ।

“कुनै बेला गणेशमानज्यूले लौरो लिएर सडकमा उत्रिँदा सबै काठमाडौँवासी जुरुक्क उठ्ने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले कांग्रेस समय सान्दर्भिक पार्टी भएकाले फेरि जुर्मुराउने आशासहित अघि बढ्नका लागि आह्वान गर्दछु ।”

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक प्रतिकूलतामा पुस्तक ल्याउने आँट गरेर लेखक घिमिरेले सह्रानीय कार्य गरेको बताउनुभयो । उहाँले बुद्ध र बिपी कोइरालाले त्याग गरेकाले सबैको मनमनमा बस्न सफल भएको बताउनुभयो ।

कांग्रेसका उपसभापति पुष्पा भुसालले बुद्ध र बिपीका दर्शनलाई व्यावहारिक जीवनमा उतार्नुपर्ने बताउनुभयो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वे राजनीतिमा विनम्रता र साहित्यमा अराजकतालाई समन्वय गरेर अघि बढेको खण्डमा सफल लेखक हुन सकिने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यले मुलुक र जनतालाई जोड्नुपर्ने बताउनुभयो । राजनीतिक विश्लेषक शङ्कर तिवारीले बुद्ध, बिपी र आजका नेता पुस्तकको समीक्षा गर्नुभएको थियो ।

पत्रकार राजकुमार बानियाँले ‘लिलिपुटका लघु मानव’ को विषयमा समीक्षा गर्नुभएको थियो । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे प्रतिकूल अवस्थामा आफूले लेखन कार्यलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

सम्बन्धित समाचार