नवकान्तिपुर संवाददाता
कर्णाली, ९ साउन।

तल्लो तहका व्यापारदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिइएका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा शुक्रबार वीरेन्द्रनगरमा आयोजित गत आव २०८२/८३ मा वार्षिक प्रगति समीक्षा कार्यक्रममा सो सुझाव दिइएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमन कर्ता भएको बताउनुभयो ।
उहाँले उत्पादक, भण्डारक र वितरकसम्म जिम्मेवार भए उपभोग्य वस्तुको गुणस्तरमा कमी नहुने बताउनुभयो । प्रशासनको अनुगमन सुधारात्मक भएको बताउँदै उहाँले एकैपटकम दण्डात्मक उपचार राम्रो नहुने जनाउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक व्यक्तिले आफ्नो आहारविहार अर्थात् आनीबानी परिवर्तन गर्न जरुरी छ । अन्नको प्रभावले शरीर मात्र होइन, मनलार्ई पनि असर गरिरहेको हुन्छ । तसर्थ हामीले प्रयोग गर्ने खाद्य वस्तुको गुणस्तर र उत्पादकत्व दुवै राम्रो हुनुपर्दछ ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रीराम न्यौपानेले सुर्खेत कार्यालयले दश जिल्लाको अवस्था हेर्दा अपेक्षित प्रतिफल निस्कन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति र साधन स्रोतको अवस्था सीमित छ । दरबन्दी करिब ५० प्रतिशत कम छ यद्यपि काम नगरी पनि सुख छैन ।”
पछिल्लो समयमा यहाँका ठूला होटलदेखि बजारका ससाना व्यवसायीको उत्पादन र वितरणको गुणस्तर जाँच गरी उपभोक्तालाई सचेतना जगाएको उहाँले बताउनुभयो ।
समीक्षा कार्यक्रममा कार्यालयका खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले कार्यालयले गत आव २०८२/०८३ मा गरेका काम, भएको उपलब्धि एवं प्रगति र देखिएका चुनौति तथा समस्या समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

