किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिइनिकका अनुसार आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् । यो आक्रमण अमेरिकी रक्षा कम्पनी ‘रेथियन’का वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो । उक्त कम्पनीले युक्रेनलाई आवश्यक ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उत्पादन गर्छ ।

आक्रमणपछि जेलेन्स्कीले ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

युक्रेनी रक्षा उद्योग परिषद्ले आक्रमणका बेला रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू कार्यक्रमस्थलमा रहेको जनाएको छ ।

युक्रेनका महान्यायाधिवक्ता रुस्लान क्राभचेन्कोले घटनाको युद्ध अपराधका रूपमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यस घटनासम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको जनाएको छ ।

रेथियनसँग सहकार्यमा जोड

जेलेन्स्कीले बिहीबार राति रेथियनको प्रतिनिधिमण्डलसँग भेट गर्दै ‘प्याट्रियट’ इन्टरसेप्टर क्षेप्यास्त्रको संयुक्त उत्पादनबारे छलफल गर्नुभएको थियो । उहाँका अनुसार युक्रेन र रेथियनबीच यस विषयमा सहकार्य अघि बढाउने सहमति भएको छ ।

युक्रेनले विगत केही वर्षदेखि पश्चिमी साझेदारहरूसँग थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउन आग्रह गर्दै आएको छ । यद्यपि, युक्रेनमै यसको उत्पादन सुरु हुन अझै केही वर्ष लाग्न सक्ने विज्ञहरूको भनाइ छ ।

रुसभित्र युक्रेनी ड्रोन आक्रमण

यसैबीच, युक्रेनले रुसभित्र लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले किरोभ क्षेत्रमा रहेको एक सैन्य उद्योग तथा सीमाबाट करिब एक हजार ३५० किलोमिटर टाढा रहेको तेल पूर्वाधारमा प्रहार गरेको छ ।

किरोभ क्षेत्रका गभर्नर अलेक्जेन्डर सोकोलोभका अनुसार सैन्य कारखानामा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

युक्रेनी सेनाले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का सेन्ट पिटर्सबर्ग, लेनिनग्राद क्षेत्र र कब्जामा रहेको क्रिमियाको सिम्फेरोपोलस्थित रसद केन्द्रहरूमा ड्रोन आक्रमण गरेको कम्पनीकी संस्थापक तात्याना किमले बताउनुभएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति रुसका विभिन्न क्षेत्रमा प्रहार गरिएका ५७१ वटा युक्रेनी ड्रोन खसालिएको छ ।

सम्बन्धित समाचार