छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

यसैगरी, गीत रचनातर्फ वरिष्ठ गीतकार डा नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल, गायनतर्फ गायिका विमला राईलाई जनही रु एक लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । गायिका सारिका घिमिरेलाई ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।



पुरस्कृत व्यक्तित्व डा लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेख गर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई सङ्गीत र स्वरले ब्यूँझाइदिएर अहिलेको अवस्थामा पुर्याइदिने सङ्गीतकार तथा गायक/गायिकाप्रति आभार प्रकट गर्नुभयो ।

गुठीका सचिव एवं साहित्यका दिनेश अधिकारीले नेपाली गीतसङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका गीतकार, सङ्गीतकार र गायक/गायिकालाई २०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिनुभयो ।

हालसम्म ४० जना गीतकार, ३९ जना सङ्गीतकार, ४१ जना गायक/गायिका र ४१ जना युवा प्रतिभालाई सो पुरस्कार समर्पण गरिएको गुठीले जनाएको छ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता तथा पुरस्कृत व्यक्तित्व विमला राई र सारिका घिमिरेले साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

सो पुरस्कारबाट गायक नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी, वसन्त चौधरीलगायत सम्मानित भइसक्नुभएको छ ।

सम्बन्धित समाचार