नवकान्तिपुर संवाददाता
काठमाडौँ, १२ साउन l

आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम गर्ने उद्देश्यले सिन्धुलीमा ‘रक्तसेवा’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । गैरसरकारी संस्था न्यू स्टेप परियोजनाको आर्थिक सहयोगमा विकास गरिएको उक्त प्रणालीमार्फत आवश्यक परेका बेला रक्तदाता तथा रक्तसेवासँग सहज रूपमा सम्पर्क गर्न सकिने छ ।
सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटका विद्यार्थीको प्राविधिक सहयोगमा सो प्रणाली सञ्चालन हुनेछ । प्रणालीको खाका तयारी, डिजाइन, कोडिङ, तथ्याङ्क व्यवस्थापन तथा परीक्षणसम्मका सम्पूर्ण चरण विद्यार्थीले नै पूरा गरेका थिए भने अहिले यसको सञ्चालन, अनुगमन र नियमित अद्यावधिकको जिम्मेवारी पनि उनीहरूकै नेतृत्वमा रहेको छ ।
रक्तसेवालाई प्रविधिसँग जोडेर अझ छिटो, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यका साथ यो प्रणाली क्यूआर कोडसहित सार्वजनिक गरिएको छ । क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले आवश्यक जानकारी प्राप्त गर्नुका साथै आपतकालीन अवस्थामा रगत आवश्यक परेका बेला सम्बन्धित व्यक्तिसम्म छिटो पुग्न सक्ने विश्वास गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले नयाँ प्रविधिको प्रयोगले जिल्लामा रक्तसेवा थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । न्यू स्टेप परियोजनाका कार्यक्रम प्रमुख प्रशान्त ढकालले रक्तसेवा प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो प्रणाली विकास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा प्रणालीलाई थप परिमार्जन गर्दै जिल्लाभरका स्वास्थ्य संस्था, रक्तदाता समूह तथा सरोकारवाला निकायसँग समन्वय गरी यसको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले रगत आवश्यक पर्नेहरूलाई यो प्रणालीले उल्लेख्य सहजीकरण गर्र्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।

