नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपालीको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु रहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुशरण गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले पछिल्लो घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले उक्त घटनामा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले हिंसा भड्किन नदिन राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न सरकारसँग अनुरोध गर्नुभएको छ ।

