
ब्लड डोनर्स अफ अमेरिका (बिडिए) मेरिल्याण्ड च्याप्टरका अध्यक्ष सुशील पंगेनीलाई बिडिए टेक्सास च्याप्टरका पदाधिकारी, पूर्व पदाधिकारी तथा समाजसेवी व्यक्तित्वहरूले हार्दिक स्वागत तथा सम्मान गरेका छन्। आत्मीय वातावरणमा सम्पन्न उक्त भेटघाटमा रक्तदान अभियानको प्रभावकारी सञ्चालन, संस्थाको सुदृढीकरण तथा आगामी कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो।
उक्त कार्यक्रममा बिडिए का पूर्व अध्यक्ष डा। नन्दा रेग्मी, लेखक बैकुण्ठराज आचार्य, बिडिए का पूर्व उपाध्यक्ष शिव काफ्ले, बिडिए टेक्सासका उपाध्यक्ष विकाश भण्डारी, लोकेन्द्र बराल, लीला श्रेष्ठ तथा बिडिए सहकोषाध्यक्ष गंगा थापा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा बिडिए टेक्सासका उपाध्यक्ष विकाश भण्डारीले अध्यक्ष सुशील पंगेनीलाई हार्दिक स्वागत गर्दै टेक्सास च्याप्टरले सञ्चालन गरिरहेका रक्तदान अभियानहरू, समुदायमा भएका गतिविधिहरू तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले बिडिए मेरिल्याण्ड र टेक्सास च्याप्टरबीचको सहकार्य अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसपछि बिडिए का पूर्व उपाध्यक्ष शिव काफ्लेले बिडिए मेरिल्याण्डका अध्यक्षलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो । उहाँले विगतमा एउटै कार्यसमितिमा रहेर सँगै काम गरेका अनुभवहरू स्मरण गर्दै सुशीलको समर्पण, नेतृत्व क्षमता र सेवाभावको खुलेर प्रशंसा गर्नुभयो।
लेखक बैकुण्ठराज आचार्यले सुशील पंगेनीबारे लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै प्रत्यक्ष भेट्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले युवा पुस्ताले सामाजिक सेवामा देखाएको सक्रियता प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो।
बिडिए अमेरिकाका सहकोषाध्यक्ष गंगा थापाले बिडिएको चौथो राष्ट्रिय अधिवेशन तथा विभिन्न रक्तदान अभियानहरूमा सुशील पंगेनीले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै उहाँको सेवाभाव र नेतृत्वको प्रशंसा गर्नुभयो।
त्यसैगरी लीला श्रेष्ठले पनि सुशील पंगेनीलाई टेक्सासमा स्वागत गर्दै बिडिएलाई अझ सशक्त र प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।यस्तै लोकेन्द्र बराल आफु यस संथामा आऊन ईच्छुक रहेको र ब्लड डोनर्स बन्ने चाहना राख्नुभयो ।
छलफलका क्रममा सहभागीहरूले आगामी रक्तदान अभियानहरूलाई अझ प्रभावकारी बनाउने, युवा स्वयंसेवकहरूलाई आकर्षित गर्ने, सदस्यहरूबीच समन्वय बढाउने तथा संस्थालाई थप मजबुत बनाउने विषयमा आ-आफ्ना सुझाव र अनुभवहरू साझा गरेका थिए।
आफ्नो मन्तव्यका क्रममा बिडिए मेरिल्याण्डका अध्यक्ष सुशील पंगेनीले बिडिए टेक्सास च्याप्टरलाई भविष्यमा आफ्नै कार्यालय स्थापना गर्न सुझाव दिँदै, त्यही कार्यालयलाई नियमित बैठक, योजना निर्माण, स्वयंसेवक परिचालन तथा नियमित रक्तदाताहरूको सम्मान र स्मरण गर्ने केन्द्रका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले सबै च्याप्टरहरूबीच निरन्तर समन्वय र सहकार्य भए द्यम्ब् अझ सशक्त राष्ट्रिय संस्था बन्ने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा बिडिए मेरिल्याण्ड च्याप्टरको तर्फबाट अध्यक्ष सुशील पंगेनीले बिडिए टेक्सास कार्यसमितिलाई मायाको चिनो प्रदान गर्नुभयो।
कार्यक्रमको समापन गर्दै बिडिए का पूर्व अध्यक्ष डा। नन्दा रेग्मीले भन्नुभयो, “ब्लड डोनर्स अफ अमेरिकामा सुशील पंगेनीजस्ता युवा नेतृत्वलाई देख्न पाउँदा अत्यन्त खुशी लागेको छ। नयाँ नेतृत्वले गरिरहेको मेहनत, समर्पण र सक्रियता प्रशंसनीय छ। सबै टोली एकजुट भएर काम गरेमा प्रत्येक रक्तदान अभियान अझ सफल बन्नेछ। टेक्सास भ्रमण गरी हामीलाई सम्झेर भेट गर्न आउनुभएकोमा सुशील पंगेनीलाई हार्दिक धन्यवाद।”
कार्यक्रमले बिडिए मेरिल्याण्ड र बिडिए टेक्सासबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै भविष्यमा संयुक्त रूपमा रक्तदान अभियान, मानवीय सेवा तथा संस्थागत विकासका कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो। रक्तदानमार्फत जीवन बचाउने साझा अभियानलाई निरन्तरता दिन दुवै च्याप्टरहरूले सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

