वीरगञ्जमा आज पनि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुक्रबार साँझ ५ः०० बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) मा भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार ती चार स्थानमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा/भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिएको छ । बिहीबार (हिजो) पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

सम्बन्धित समाचार