नवकान्तिपुर संवाददाता
चितवन, १७ साउन।

बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो ।
भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील मानिएका छन् । प्रदेशभर रहेका ९१ वटा जोखिमयुक्त ‘ब्ल्याक स्पट’ मध्ये चितवनमा १७, धादिङमा १६, सिन्धुलीमा १४ र मकवानपुरमा १२ वटा रहेका छन् ।
काभ्रेपलाञ्चोकमा ११, नुवाकोट आठ, रसुवा र रामेछापमा चार-चार, सिन्धुपाल्चोकमा तीन र दोलखामा दुई वटा स्थान जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाभन्दा बढीको मृत्यु भएको स्थानलाई जोखिमयुक्त स्थानका रूपमा लिइएको हो । विगत तीन आर्थिक वर्षमा भएका पाँच हजार ८७२ सवारी दुर्घटनामा परी ९५९ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ६९९ जना घाइते भएका छन् ।
आव २०८०/८१ मा ३१५, आव २०८१/८२ मा ३०४ र आव २०८२/८३ मा ३४० जनाको ज्यान गएको छ । गत आवमा मात्रै भएका एक हजार ९२४ दुर्घटनामध्ये एक हजार ११४ राजमार्गमा, ५३९ ग्रामीण र २७१ वटा सहरी क्षेत्रमा भएका उहाँको भनाइ छ ।
दिउँसो १२ः०० बजेदेखि बेलुका ६ः०० बजेको समय दुर्घटनाका दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त देखिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेशका १० जिल्लाको १४ हजार ४५६ किलोमिटरभन्दा बढी सडकसञ्जाल र एक लाख ७३ हजारभन्दा बढी सवारीसाधन व्यवस्थापनका लागि ३३२ जना ट्राफिक प्रहरी कार्यरत रहेका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जना ट्राफिक प्रहरीले औसत ४३ दशमलव ५५ किमी सडक र ५५२ वटा सवारीसाधनको निगरानी गर्नुपर्ने बाध्यता छ ।
सीमित जनशक्तिका बाबजुद ट्राफिक नियम पालनामा कडाइ गर्दै गत वर्ष ९० हजार ९८३ सवारीलाई कारबाही गरी रु नौ करोड तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि स्पीड गन, एएनपीआर क्यामेरा, डिजिटल ईचलान र ‘ट्रान्सपोर्ट कम्युनिकेसन एप’जस्ता प्रविधिको प्रयोग बढाउनुका साथै २६ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

