भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवनको भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् ।

प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ । त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उहाँले बताउनुभयो ।

चितवन सहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ । अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरुको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ ।

अस्पतालका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ ।” यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उहाँले बताउनुभयो ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरु घरमा आउने गर्दछन् । सोही समयमा गर्भ बसेकाहरुको यो समयमा सुत्केरी गर्दछ । सोही कारणले यो समयमा प्रसूति गराउनेहरुको सङ्ख्या बढेको हुन सक्ने जनाइएको छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी छन् । यसका कारण सुत्केरी गराउनेहरुलाई अन्यत्रभन्दा सहज हुने गरेको उहाँको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको ‘कङ्गारु मदर केयर’ पनि रहेको छ ।

अस्पतालमा दक्ष ‘नर्स’ र ‘मिड वाइफ’ले मात्र नजजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृह पछिको व्यवस्थित र विश्वासिलो रुपमा लिने गरिन्छ ।

प्रवक्ता डा सापकोटाले गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्य स्तरबाट बच्चा निकालिएको हो भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । ७० जनाको ‘भ्याकुम’ र ‘फोर्सएप’ नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको छ ।



अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । ती मध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो । १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो ।

गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नु परेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलब चार रहेको थियो । जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार