नवकान्तिपुर संवाददाता
नेपालगन्ज, १९ साउन।

प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र रु एक लाख ८० हजारसहित रु पाँच लाख दुई हजार २४० बरामद भएको छ । प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ ।
उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँजसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् ।
