झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो  

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको छ ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली सङ्लन अभियानअन्तर्गत हालसम्म थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार गत चैत २२ गतेपछि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

नयाँ मतदातामध्ये पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला रहेका छन् । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता थिए । जसमध्ये तीन लाख ५५ हजार १८३ महिला र तीन लाख ५८ हजार ३६४ पुरुष रहेका थिए ।

निर्वाचन अधिकारी नेपालले राष्ट्रिय परिचयपत्रको प्रयोगसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकको पहुँच सहज बन्दै गएको बताउनुभयो । उहाँले समयमै नामावली अद्यावधिक गर्न सबै योग्य नागरिकलाई आग्रह गर्दै निर्वाचनको आधारभूत तयारीका रूपमा सही र अद्यावधिक मतदाता नामावली आवश्यक हुने उल्लेख गर्नुभयो ।

यसैबीच, निर्वाचन आयोगको निर्णयअनुसार आगामी असोज १ गतेदेखि मसान्तसम्म स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका व्यक्तिको विवरण वडा तहबाटै अद्यावधिक गर्ने व्यवस्था लागू गरिएको छ ।

यसका लागि सङ्घीय सरकारले स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइसकेको छ ।

सम्बन्धित समाचार