नवकान्तिपुर संवाददाता
बागमती, २३ साउन।

हिमालयन राइडर्स सोसाइटी हेटौँडाको आयोजना एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हेटौँडाको हुप्रा चौरमा आज आँखा दान एवं नसर्ने रोगहरूको निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।
हेटौँडा सामुदायिक आँखा अस्पताल, नेपाल आँखा कार्यक्रम र जनस्वास्थ्य कार्यालय, मकवानपुरको समन्वयमा गरिएको शिविरमा १४ जनाले आँखा दानको प्रतिबद्धता गर्नुभएको छ ।
एक सय छ जनाको मधुमेह, रक्तचाप, बिएमआईलगायत नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइएको हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।
साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको सोसाइटीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो ।
साइक्लिङ क्लबका तर्फबाट समुदायमा आँखा दानको अभियान सुरु गर्नेमा सम्भवत आफूहरू पहिलो हुनसक्ने उहाँको भनाइ छ । सोसाइटीले साइक्लिङका माध्यमबाट हेटौँडासहित देशमा विभिन्न गन्तव्यको पर्यटन प्रवर्द्धनसँगै सम्पदा एवं ऐतिहासिकस्थलमा वृक्षरोपणको अभियानलाई पनि अघि बढाइरहेको उहाँले बताउनुभयो ।
