नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन।

आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा साउनको चौथो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत पाँच हप्ता अघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको पाँचौँ साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहनुभएका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।
पाँचौँ हप्ताको शनिबारको सफाइका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोकाअघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाइ गरिएको उहाँले बताउनुभयो । भुवनेश्वरी मन्दिरअघिबाट सुरु भएको सफाइ इट्टापाखा, जयवागेश्वरी, सुन्धारा, भण्डारखाललगायत क्षेत्रमा सफाइ गरिएको छ ।
सौरमासअनुसार साउनको अन्तिम सोमबार भक्तजन धेरै हुने भएकाले मन्दिरको सुरक्षा संयन्त्र कडाइ गर्न लागिएको छ । यही साउन २५ गते सोमबार बोल बम यात्रा पनि धेरै भएकाले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ ।
बोल बम यात्रीलाई वासुकितिरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको पनि परिषद् सदस्य भण्डारीले बताउनुभयो ।
सफाइमा तीन वटै सुरक्षा निकायका अधिकारीहरू कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरू, कोषका कर्मचारी, स्थानीय सङ्घसंस्थालगायत स्थानीयवासीको पनि सक्रिय सहभागिता रहेको पनि उहाँले सुनाउनुभयो ।
प्रहरी पहरा गणलगायत सुरक्षा निकायको पनि सफाइमा सहभागिता रहेको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्न चेतना जगाउने उद्देश्यले सफाइ अभियान सुरु गरिएको हो ।
यो वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । पहिलो, दोस्रो र तेस्रो सोमबार साउन ४, ११ र १८ गते सम्पन्न भइसकेको छ । यसैगरी, साउनको २५ गतेको तयारी अहिले भइरहेको छ ।
सौरमासअनुसार बाँकी एउटा सोमबार भक्तजनलाई सहज रूपमा पशुपतिनाथ मन्दिरभित्र पूजा, आराधना एवं दर्शन गराउने उद्देश्यले यो सफाइ गरिएको हो ।
चान्द्रमास अनुसार भने साउन १८ गतेको सोमबार पहिलो थियो । चान्द्रमासअनुसार साउन २५ गते दोस्रो सोमबार र त्यसपछिका दुई वटा सोमबार पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ ।
कतिपय भक्तजनले भने चान्द्रमासअनुसार साउन लागेपछि मात्र पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहेको बताएका छन् ।
यस वर्ष असार अन्तिम साता अस्त भएको बृहस्पति साउन २६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यसैले चान्द्रमास अनुसारका बाँकी दुई सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने भएकाले त्यसैअनुसार तयारी गरिएको जनाइएको छ ।
साउनको शनिबार आज पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो थियो । शनिबारको सार्वजनिक बिदाका दिन अन्य दिन जान नसक्ने भक्तजनको लाम लागेको हो ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको बार भएकाले पनि साउन महिना र सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको लाम लाग्ने गरेको छ ।
