नवकान्तिपुर संवाददाता
नवलपरासी (बर्दघाट सुुस्ता पश्चिम), २४ साउन।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले आइतबार सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले अस्थायी बाँध निर्माणका लागि आवश्यकपर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।
सुस्तामा नदीको कटानबाट जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएका सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताउनुभयो ।

