नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ ।
समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ? राष्ट्रिय बहस !’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राख्नुभयो ।
“कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ, यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताउनुभयो ।
उहाँका अनुसार नेपालमा वामपन्थी आन्दोलनले छ प्रधानमन्त्री र २१ मुख्यमन्त्री जन्माइसकेको छ । यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उहाँको भनाइ थियो ।
“नेपालको कम्युनिष्ट आन्दोलन सामान्य थिएन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा, राष्ट्रियसभाका सदस्य गणेश विकलगायत नेताहरूको सहभागिता थियो ।
