बस्ती पसेको बाघ नियन्त्रणमा

चितवनको राप्ती नगरपालिका-१ दुविचौर क्षेत्रमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार रातिदेखि बस्ती क्षेत्रमा देखिएको बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले प्राविधिक टोली परिचालन गरेकामा आइतबार बिहान नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्राविधिक टोलीको तेस्रो पटकको प्रयासमा बाघलाई डार्ट (बेहोस पार्ने औषधि) दिएर सफल भइएको हो ।

“नियन्त्रणमा लिइएको बाघलाई सौराहा ल्याएर स्वास्थ्य परीक्षण गर्नेछौँ । स्वास्थ्य अवस्थाको जानकारी भएपछि कहाँ राख्ने भन्ने टुङ्गो लाग्नेछ”, उहाँले भन्नुभयो ।

थापामगरका अनुसार उक्त बाघले राप्ती नगरपालिका-१ डिपाट बस्तीमा आइतबार बिहान एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो । आइतबार बिहान अन्दाजी ६ः४० बजे गाउँमा छिरेको बाघले स्थानीय ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो ।

आक्रमणबाट उहाँको तिघ्रामा सामान्य चोट लागेको जनाउँदै उहाँले घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

सोही क्रममा बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।

निकुञ्जले केही दिनअघि मात्रै समस्याग्रस्त एउटा बाघलाई नियन्त्रणमा लिएको थियो । निकुञ्जको खोरमा योसँगै आठ वटा समस्याग्रस्त बाघ छन् ।

सम्बन्धित समाचार