बडीमालिका पूजा आजदेखि प्रारम्भ

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय बैठकले दर्शनार्थीको बढ्दो चापलाई दृष्टिगत गर्दै बडीमालिका भगवतीको पूजा आजदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

बडीमालिका भगवती मन्दिरका पुजारी नेत्र पाध्यायले यस वर्ष मुख्य पूजा भदौ ११ गते भए पनि एकै दिन पूजा हुँदा दर्शनार्थीको अत्यधिक घुइँचो हुने भन्दै अगाडिदेखि नै सुरु गरिएको बताउनुभयो ।

बडीमालिकामा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुन्छ । मुख्य पुजारी पाध्यायका अनुसार गत वर्ष मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत यहाँ दर्शनार्थी आउने गरेका छन् । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ । डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिँडिसकेको छ ।

यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि सङ्ख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताउनुभयो ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका उहाँले बताउनुभयो ।

“मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ । मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताउनुभयो ।

त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने उहाँले जानकारी दिनुभयो ।

यस वर्ष मेला अगावै सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । मौसम खराबीका कारण सामग्री ढुवानीमा ढिलाइ हुँदा टावर निर्माण कार्य प्रभावित भएको छ ।

यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।

भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि यही साउन २६ गते हेलिकप्टरमार्फत उपकरण सामग्री बडीमालिकाको त्रिवेणी पाटनमा पुर्याइएको थियो ।

फोरजी टावर निर्माणका लागि बडीमालिका क्षेत्रमा करोडौँका उपकरण ढुवानी गरे पनि जडान गर्ने प्राविधिक टोली जाने टुङ्गो नलाग्दा काम अलपत्र छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहले टावर निर्माणका लागि प्राविधिक टोली एक हप्ता बसेर फर्किएको बताउनुभयो । बडीमालिकामा उपकरण पुग्नुभन्दा एक हप्ता अगाडि नै प्राविधिकको टोली त्यहाँ पुगेको थियो, तर मौसम खराबका कारण समयमै सामान नपुगेपछि टोली फिर्ता भएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बडीमालिका नगरपालिकाले त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पुर्याउन टोली खटाइसकेको बताउनुभयो । उहाँले मेला अगाडि नै सञ्चार सुविधा उपलब्ध हुने बताउनुभयो ।

विगतका वर्षभन्दा पछिल्लो समय बडीमालिकाको प्रचारप्रसार तथा पर्यटकको आकर्षण बढ्दै गएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताउनुभयो ।

“यसअघि पनि दैनिक रुपमा पर्यटकहरु आइरहन्थे, अहिले मेला नजिकिएसँगै आजबाट पूजा पनि सुरु गरेकाले बडीमालिका जाने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ,” उहाँले भन्नुभयो ।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको हो । समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भुत सङ्गम हो ।

हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरे पनि अन्य समयमा पनि पर्यटक बडीमालिका पुग्ने गरेका छन् । यहाँको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुने लगायतका धार्मिक विश्वास रहिआएको छ ।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडीमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन् । खेतिबेती क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पाइन्छ ।

यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढ्दै गएको छ ।

सम्बन्धित समाचार