खानीखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको बोलेरो जिप सडकबाट दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । घाइतेलाई बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित खेलमैदानसम्म एम्बुलेन्समार्फत ल्याउने कार्य भइरहेको छ भने थप उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन गरिए पनि बाक्लो कुहिरोका कारण अवतरण गर्न नसकेपछि एम्बुलेन्समार्फत कामीडाँडासम्म ल्याउने तयारी गरिएको छ ।

कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेलाई थप उपचारका लागि लैजाने प्रयास भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार