मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन भएको हो ।

गत साउन २२ गते १५ बुँदे माग राखीसुरु गरेको आन्दोलन अन्तर्गत सङ्घले आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायीबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले जानकारी दिनुभयो । अध्यक्ष खत्रीका अनुसार व्यवसायीका माग सम्बोधन गर्न केही समय लाग्ने भएकाले हालका लागि आन्दोलन स्थगन गरिएको हो ।

छलफलका क्रममा सङ्घले राखेका १५ बुँदे मागमध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएकाले त्यसलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष खत्रीले भन्नुभयो, “सङ्घकातर्फबाट प्रस्तत माग यथावत छन् । तर, कतिपय विषय ऐन संशोधनमा समेटिएकाले केही समय आन्दोलन स्थगन गर्ने निर्णय गरेको छौँ ।”

यस्तै, व्यवसायीका अन्य मागका सन्दर्भमा आवश्यक प्रमाण र कागजातसहित वैदेशिक रोजगार विभागमा अनुरोध भएको खण्डमा विभागले सहजीकरण गर्ने तथा त्यहाबाट समस्या नसुल्झिए मन्त्रालयमा मार्फत सम्बोधन हुने जानकारी दिइएको छ ।

सम्बन्धित समाचार