नवकान्तिपुर संवाददाता
मकवानपुर, १ भदौ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४.०० बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबारै आफनो पदबाट राजिनामा दिनुभएको हो । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो ।
गत ६ साउनमा नेकपा (एमाले) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
प्रदेश प्रमुख देवकोटाले गर्नुभएको आह्वानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले दलहरुको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्ने छ ।

