दलको विधान संशोधन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो ।

उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ ।

यस्तै, बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका कामबारे जानकारी गराउनुभएको थियो । बैठकमा सरकारका कामकारबाही जनतासमक्ष पुर्‍याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो ।



सम्बन्धित समाचार